बैशाख १३, २०८१ बिहीबार

हिरोका श्रीमतीहरूले चलचित्रमा काम गर्न रोके



काठमाडौं। तापसी पन्नू अहिले चलचित्र रश्मी राकेटको छायांकनमा व्यस्त छिन्। यसको छायांकन सकिएसँगै उनी हसीन दिलरुबा तथा लूपलपेटा लगायतका चलचित्रको काममा लाग्ने छिन्। जति चलचित्र क्षेत्रमा सफल मानिँदै आएकी छिन्, त्यो भन्दा बढी नै उनको संघर्ष छ।

उनले आफ्नो संघर्षको क्रममा भोगेका समस्याबारे खुलाशा गरेकी छिन्। यो क्रममा उनले कैयौँ पटक आफ्नो डायलग नै परिवर्तन गर्नुपरेको थियो भने कति पटक त हिरोको तुलनामा पारिश्रमिक घटाउनुपरेको थियो।

कति पटक निर्माताहरूले उनलाई ‘रिजेक्ट’ नै गरेका थिए। त्यति मात्र नभएर चलचित्रका हिरोका श्रीमतीहरू उनलाई चलचित्रमा काम गरेको देख्न चाहँदैनथे।

उनले भनिन्, “म केही चलचित्रबाट निकालिएकी थिएँ। किनकि, केही हिरोका श्रीमतीहरूले चलचित्रमा मैले काम गरेको मन पराएका थिएनन्। यसैले, मैले केही चलचित्रमा सम्झौता गरेर पनि छोड्नुपरेको थियो।”

एक चलचित्रमा उनले हिरोले भनेको नमान्दा अरू नै कलाकारको आवाजमा डबिङ गरिएको थियो। हिरोले डबिङका क्रममा सम्वाद परिवर्तन गर्न भने तर, उनले नमानेपछि अर्कै कलाकारको आवाजमा डबिङ गरिएको थियो। त्यसपछि आफूलाई मनपर्ने र आफू खुसी हुने मात्र चलचित्रमा काम गर्न थालेको उनको भनाइ छ।

कतिपय हिरोले आफ्नो सिन नै परिवर्तन गरिदिएको उनको भनाइ छ। “कतिपय यस्ता हिरो पनि थिए। उनको सिनभन्दा मेरो सिन बढी पावरफूल भएपछि त्यसलाई नै हटाउन लगाए। किनकि, त्यस्तो नगरेको खण्डमा हिरो म भन्दा कमजोर देखिन्थ्यो,” उनले भनिन्।