बैशाख १५, २०८१ शनिबार

नेपाली चलचित्रमा नयाँ नायिका, पाँचाै प्रयासमा नीति शाहको डेब्यु



नेपाली ठूलो पर्दामा नयाँ नायिका भित्रिएकी छन् । यस अघि चार वटा चलचित्रमा अनुबन्धित भएर पनि डेब्यू नपाएकी पूर्व मिस इन्टरनेसनल नेपाल नीति शाह लचित्र ‘खजुरे ब्रो’मा नायिका भएकी हुन् ।

सुरज सुनुवार निर्देशित चलचित्र ‘खजुरे ब्रो’को छायाँकन तीन दिन अघिबाटै सुरु गरिएको भएपनि सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै घोषणा गरिएको हो ।

नीति सबैभन्दा पहिले निर्माता सन्तोष सेनको फिल्म ‘हुतुतु’मा जोडिएकी थिइन् । उनको अभिनेता प्रदीप खड्कसंँग डेब्यू गर्ने कुरा थियो, तर फिल्म बनेन । ‘हुतुतु’ नबनेपछि उनी अनमोल केसीको फिल्म ‘एक्स नाईन’मा जोडिइन् । त्याे फिल्म पनि बनेन । प्रदीप खड्कासँग नयाँ चलचित्र कामिनो र अनमोल केसीसँग नयाँ चलचित्र रावायणमा नायिकाको रुपमा नीति शाह अनुबन्धित भएकी थिईन् । तर ती दुबै चलचित्र पनि  निर्माण भएनन् । यी चारवटै फिल्म समयमै निर्माण नभएपछि यतीबेला आफु चलचित्र खजुरे ब्रोमा अनुबन्धित भएर छायाँकनमा उत्रिएको पनि उनले बताईन् । आफ्नो डेब्यु चलचित्र ‘खजुरे ब्रो’ को कथा र सम्पूर्ण टिम मन परेको कारण आफुले काम गरेको र राम्रो चलचित्र बन्नेमा ढुक्क रहेको अभिनेत्री नीति शाहले बताईन् ।

कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुरज सुनुवार नै हुन् । कमेडी जनराको चलचित्र ’खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ’खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन चलचित्र रहेको निर्देशक सुनुवारले बताए ।

चलचित्रमा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहने छ ।

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले यो चलिचत्रको छायाङ्कन गरिरहेका छन् । केहि दिनको काठमाडौँको छायाँकन सकेर टिम धरान प्रस्थान गर्नेछ। दर्शकको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । अनमोल गुरुङको सङ्गीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा छायाङ्कन हुनेछ ।

नीति शाह मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । शाहले फिल्म ‘खजुरे ब्रो’ आफ्ना लागि लक्की भएको बताएकी छन् । यस अगाडि केही फिल्ममा अनुबन्धित भएपनि अभिनय अवसर नमिलेको बताएकी शाहले ‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गर्न पाउँदा निकै खुसी लागेको सुनाइन् ।