बैशाख २६, २०८१ बुधबार

प्रेमी भागेपछि सुत्केरी अलपत्र, पाेषणको अभावका कारण स्वास्थ्य समस्या



विवाह गर्छु भनेर यौन सम्पर्क राख्ने प्रेमी फरार भएपछि बाँकेको डुडुवा गाउँपालिका– ५ डलैपुरकी सुत्केरी आकृती बराल (नाम परिवर्तन) समस्यामा परेकी छन् ।

२१ दिन पहिला भेरी अञ्चल अस्पतालमा सुत्केरी भएकी १८ वर्षीया आकृति प्रेमी समस्यामा परेकी हुन् ।

आकृती एउटै विद्यालयमा अध्ययन गर्ने प्रेमी सन्तोष बलामी मगरसँग प्रेम सम्बन्धमा रहेको बेला गर्भ रहेको थियो । गर्भवती भएको कुरा जानकारी पाएदेखि सहयोग गर्नुको साटो सन्तोष भारत तर्फ भागेका थिए । अहिले सन्तोषको परिवारले छोरा घरमा नरहेको भन्दै अस्विकार गरेकोको कारण सुत्केरी छोरीलाई समस्या भएको आकृतिकी आमा हस्तीले बताइन् ।

पाेषणको अभावका कारण स्वास्थ्य समस्या देखिएको, बेला बेला मुर्छा पर्ने र शरिर पुरै सुन्निने जस्ता समस्या देखिन थालेको अस्पतालले जनाएको छ ।

आमा हस्तीका अनुसार गाउँकै विद्यालयमा अध्ययन गर्ने दुवैबीच प्रेम सम्बन्ध रहेछ, सन्तोषले विवाह गर्ने बचन दिएर शारीरीक सम्बन्ध राखे । सम्बन्धपछि उनको गर्भमा सन्तोषको बच्चा बस्यो यो कुरा सन्तोषलाई जानकारी गराउँदा आवश्यक सल्लाह दिनुको साटो बहाना बनाएर उनी भागेका थिए ।

सुत्केरी हुनु पहिले सम्पर्क गर्दा तिहार मनाउन आउने जस्तो कुरा गरेका सन्तोष सुत्केरी भएपछि धेरै पटक मोबाइलमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आएका छैनन् । शारीरीक अपांगता भएकी हस्ती ज्याला मजदुरी गरेर जेनतेन परिवार पाल्दै आइरहेकी थिइन । लकडाउनका कारण अहिले त्यो पनि बन्द छ । आर्थिक अभावको ठुलो मारमा परेकी हस्ती ११ वर्ष पहिले श्रीमानले छोरा, छोरीलाई हस्तीको काखमा छाडी कान्छी श्रीमती लिएर भारतमा छिरेका थिए । उनी अहिलेसम्म फर्केका छैनन् ।