बैशाख ७, २०८१ शुक्रबार

महानगरले साइकल दिएपछि भरतपुरका छात्रा र अविभावक फुरुङ्ग



चितवन । भरतपुर ९ मा रहेको शरदपुर मावि कक्षा ८ मा पढ्ने भूमिका श्रेष्ठले भरतपुर महानगरले उपलव्ध गराएको साइकल पाउँदा खुसीले फुरुङ भएकी थिइन् । उनीमात्र होइनन्, उनका अभिभावक भरत श्रेष्ठ पनि छोरीलाई स्कुल जान अब सजिलो भएको भन्दै फुरुङ भएका थिए।

यस्तै, शरदपुर माविमै कक्षा १० मा पढ्ने कृपा गुरुङले पनि साइकल पाएपछि खुसी भइन् । उनका अभिभावक चन्द्रबहादुर गुरुङ पनि छोरीले हिँडेर स्कुल जानपर्ने बाध्यता हटेको बताए । यी दुई छात्राले मात्र होइन, आज भरतपुर महानगर वडा नं ९ मा बसोबास गर्ने विपन्न, घरबाट स्कुल जान भौगालिक दुरी टाडा पर्ने २७ जना छात्राहरुलाई भरतपुर महानगरले निःशुल्क साइकल उपलव्ध गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना रहेको बताइन् । उनले भनिन्, ‘अघिल्लो वर्षको योजना भए पनि कोभिड १९ का कारण भरतपुर महानगरले यस वर्ष १२ वटा वडाका ३३० जना छात्राहरुलाई साइकल वितरण गर्न लागेका हौँ ।’ भरतपुर महानगर प्रमुख दाहालका अनुसार विभिन्न वडामा पुगेर छात्राहरुलाई साइकल वितरण गरिरहेका छौँ ।

यसअघि भरतपुरका २४, २५, २६, १३, १४, २२, २३ लगायतका वडाका छात्राहरुलाई साइकल वितरण भएको थियो । भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले विभिन्न वडाका छात्राहरुलाई साइकल वितरण गर्दै आज भरतपुर ९ मा साइकल वितरण गरिएको बताए । उनका अनुसार भरतपुर महानगरले साइकल वितरणको कार्यक्रम निरन्तर चलाउनेछ । साइकलले स्कुलदेखि घरसम्म दुरी टाढा भएका विद्यार्थीहरुलाई नियमित गराउनेछ ।

आज भरतपुर ९ मा भरतपुर महानगर उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडाध्यक्ष यमलाल कँडेल, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेललगायतको समूहले छात्राहरुलाई साइकल वितरण गरेका थिए । भरतपुर ९ का वडाध्यक्ष यमलाल कँडेलले विपन्न, आदिवासी, जेहेन्दार, स्कुलबाट घरको दुरी टाडा रहेका विद्यार्थीहरुलाई साइकल प्रदान गरिएको बताए ।

महानगरको १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना अन्तिम चरणमा पुगेको छ । बाँकी रहेका अन्य वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने महानगरले जनाएको छ । साइकल पाएपछि विद्यार्थीहरु निकै खुसी भएका थिए । साइकल पाएपछि विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाइमा पनि निरन्तरता दिन सहज हुने विद्यार्थीहरुले बताए ।

स्कुल जाँदा धेरै किताब बोकेर जानुपर्ने, घरमा भएका सबै काम सकेर स्कुल जाँदा कहिलेकाहीँ ढिला पनि हुन्थ्यो, अब साइकलले धेरै सहज हुने वडाध्यक्ष कँडेल बताउँछन् । उनी भन्छन्, ‘अभिभावक विद्यार्थी खुसीले गद्गद् छन् ।’ अबको सिकाई प्रविधिमैत्री बनाउँदै अगाडि बढ्ने योजनाका साथ महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनु पर्ने अवधारणा अगाडि सारेको छ । महानगरले आफ्नो आन्तरिक स्रोतबाट मात्रै ९ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरेको छ । महागरले सबै स्कुलमा इन्टरनेट जडानको कामलाई तीव्रता दिएको छ भने प्रत्येक स्कुललाई एउटा ल्यापटप उपलव्ध गराएको छ ।