बैशाख ३, २०८१ सोमबार

चिसोमा शान्ताको न्यानो उपहार : मुक्त कमैया वस्तीमा कम्वल



पुसको कठ्याङ्ग्रिदो चिसोबाट बालवालिका तथा ज्येष्ठ नागरिकहरुलाई जोगाउन नेकपा संसदीय दलका सचेतक तथा नेतृ शान्ता चौधरीले मुक्त कमैया वस्तीमा कम्वल वितरण गरेकी छन् ।

चिसो मौसम बढेसंगै ज्येष्ठ नागरिक र वालवालिकाहरुलाई समस्या हुन थालेपछि चौधरीले घोराही उपमहानगरपालिका–१६ सानी अम्वापुरस्थित मुक्त कमैया वस्तीमा रहेका ६६ मुक्तकमैया परिवारलाई एक्एक थान कम्वल हस्तान्तरण गरेकी हुन् ।

कम्वल हस्तान्तरण गर्दै चौधरीले ज्येष्ठ नागरिक र वालवालिकाको स्वास्थ्य सुरक्षामा थोरै भएपनि सहयोग होस् भनेर कम्वल वितरण गरेको बताइन् ।

उनले मुक्तकमैयाको सुख दुःखमा सरकार रहेको भन्दै उनीहरुलाई बसेकै ठाउँको जमिनको लालपुर्जा दिने तयारीमा रहेको बताइन् । जमिनको मालिक बन्ने मुक्तकमैयाहरुको सपना यही सरकारले पुरा गर्ने उनको दावी छ ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका–१६ का सदस्य जगत श्रेष्ठले जग्गा दिलाइदिन्छु भन्दै पैसा माग्नेहरुको भ्रममा नपर्न आग्रह गर्दै सरकारले मुक्तकमैयाहरुलाई निःशुल्क जमिन उपलव्ध गराउने बताए ।

कसैले जग्गा दिलाईदिन्छु भन्दै पैसा माग्न थाले वडा कार्यालयलाई जानकारी दिनसमेत उनले मुक्तकमैयालाई आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का घोराही नगर कमिटी सदस्य सुरेश केसी, जिल्ला भुमि अधिकार मञ्चकी पूर्व अध्यक्ष निर्मला विक, नेकपा वडा कमिटी सदस्य खिमबहादुर नाथ, टोल विकास संस्थाकी अध्यक्ष सरिता चौधरी, सीता चौधरी र भूवन चौधरीले लगायतले चिसोले समस्या पारेको बेला मुक्तकमैया वस्तीलाई सम्झेकोमा सांसद चौधरीलाई धन्यवाद दिएका थिए ।