बैशाख ३, २०८१ सोमबार

बैंकमा पैसा राख्नुभन्दा शेयरमा लगानी गर्नु राम्रो : २०२१ मा बजार अझै बढ्ने



विश्वव्यापी रुपमा कोरोना भाइरसबाट सर्ने रोग कोभिड–१९ को महामारीले गर्दा सबै व्यवसायमा नराम्रो प्रभाव परेको बेला शेयर बजारले भने नयाँ किर्तिमान कायम गरेको छ । नेपाली शेयर कारोबारले सन् २०२०मा नेप्से इण्डेक्स, कारोबार रकम लगायतमा नयाँ–नयाँ रेकर्ड बनाएको हो ।

कोरोना महामारीको बीचमै यस अगाडिका उच्च विन्दुको रेकर्ड तोड्दै गरेकोे नेपाली सेयर बजार परिसूचक नेप्सेमा २०२० को अन्तिम दिन नयाँ रेकर्ड कायम भएको थियो ।

कोभिड–१९ को कारण अरू क्षेत्रले गति लिन नसके पनि लगानिकर्ताहरूको सहज पहुँच रहेको कारण शेयर बजारले किर्तिमान कायम गर्न सफल भएको लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेल बताउँछन् ।

उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको करिब ८० प्रतिशतको हाराहारीमा होल्ड छ । स्टक मार्केटमा बैकिङ क्षेत्र नबढेसम्म अरु सेक्टरको बढाईले बजारलाई दीगो बनाइराख्न नसक्ने भएको कारण बैंक सेक्टरमा केही सकारात्मक प्रभाव परेको भएर बजार बढ्नमा पनि मद्दत पुगेको हो।

गएको साताको शेयर बजारको अवस्थालाई विश्लेषण गर्दा केही बैंकहरुमा सकारात्मक बायरहरु आएको कारण नै शेयर कारोबारले नयाँ उचाई लिन सफल भएको छ ।

बैंकहरु नबढेसम्म समग्र इण्डेक्सले आफ्नो उचाई मेन्टेन गर्न नसक्ने भएकोले आगामी वर्षपनि शेयर कारोबार सकारात्मक नै हुने विश्लेषकहरु बताउँछन् । ‘यसले के संकेत गर्छ भने बैंक तथा वित्तीय संस्थाहरु बढ्न थाल्नु भनेको बजारलाई दीगोपन दिनु हो र भोलीका दिनहरुमा सकारात्मक प्रभाव छरेको भन्ने हुन्छ’, फुल्लेल भन्छन्, ‘फाटफुट कम्पनीहरुले मात्र बजारलाई स्थायित्व दिन नसक्ने कारणले गर्दा समग्रमा बैंकिङ क्षेत्रको हाइट बढ्नुपर्छ।’

बजारमा अहिले ब्याजदर घटेर धेरै तल अर्थात न्यून दरमा आइसकेपछि बचतमा राखेका मान्छेहरुले पनि पैसा निकालेर पूँजीबजारतिर लगानी गर्न थालेको र अहिलेको बजारको अवस्था हेर्दा आगामी दिनहरु बजारका लागि राम्रो हुने उनको भनाई छ। ‘अझै पनि ब्याजदर घट्ने कुराहरु आइरहेकोले बैंकमा पैसा जम्मा गरेर खासै ब्याज पनि आउदैन भने बैंकसँग तरलता प्रशस्तै छ’, उनी भन्छन्, ‘यो अबस्थामा लगानीकर्ताहरुले सस्तोमा ब्याज लिएर बजारमा लगानी गर्ने वातावरण भएकोले आगामी दिनमा शेयर कारोबार राम्रो हुने देखिन्छ ।’

कोभिड–१९ को प्रभावदेखि लिएर पछिल्लो राजनीतिक अन्योलले गर्दा तत्कालका लागि लगानी गर्ने अन्य क्षेत्रहरु पनि नभएकोले गर्दा अहिले लगानीकर्ताहरुका लागि लगानी गर्न शेयर बजार नै एउटा उत्तम विकल्प रहेको लगानीकर्ताहरुको भनाई छ । यसरी हेर्दा लगानीकर्ताहरु मनोबल नगिराई लगानी गर्न र ढुक्क भएर बजारमा सकारात्मक हिसाबले अगाडि बढ्न सक्छौँ। ‘२०२० मा बजारले जसरी बढ्न शुुरु गरेको छ, त्यो क्रम २०२१ मा पनि जारी रहनेछ। २०२१ भित्र शेयर बजारले अझै ठूलो हाइट बनाउँछ जस्तो लाग्छ’, फुल्लेल भन्छन् ।

उनी अगाडी थप्छन् ‘नयाँ वर्ष २०२१ मा लगानीकर्ताको सहज पहुँच, बैंकको ब्याजदरमा आएको न्यूनता, लगानीकर्ताको माग बमोजिम र समय सापेक्ष ब्रोकर कमिशन नघटाईए पनि पछिल्लो समय ब्रोकर कमिशनमा धितोपत्र बोर्डले गरेको सम्वोधन, अरू क्षेत्रमा लगानीको लागि वातावरण नबनिरहेको अवस्था, बजार बियरिश ट्रेण्ड पार गरेर बुलिश ट्रेण्डमा प्रवेश गरिसकेको अवस्था लगायतका कुराहरूले यो वर्ष पनि नेप्सेसँगै कारोबार रकमले पनि नयाँ उँचाई चुम्ने कुरामा विश्वस्त हुन सकिन्छ। त्यसकारण सन् २०२१ भित्र शेयर बजारले अझै ठूलो हाइट बनाउँने भएकाले मनोबल नगिराई लगानी गर्न र ढुक्क भएर सकारात्मक हिसाबले अगाडि बढ्न सकिे फुल्लेलको भनाई छ ।