चैत्र १६, २०८० शुक्रबार

आमाको पुण्य तिथीमा नायिका ऋचा शर्माको भावुक स्टेटस – ‘आमा ! म एक वर्षदेखि भोको छु’



नायिका ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा निकै भावुक स्टेटस लेखेकी छिन् । आमालाई स्मरण गर्दै उनले आमा बिना बाँच्नु पर्दाको भावना पोखेकी छिन् ।

आइतबार आफ्नो फेसबुक स्टेटसमा ऋचाले लेखेकी छिन्, ‘आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ – त्यो कुनो म बाँचुन्चेज कहिल्यै भरिनेछैन अब ।’

उनले आमालाई घर भनेकी छिन् । त्यो, घर जसले हामीलाई एकपटक जन्म र जीवनभर ओत दिन्छ । उनी लेख्छिन्, ‘जीवन दिनेहरु ईश्वर हुन् । मेरी ईश्वर मबाट टाढा गएको आज एक वर्ष भयो । उहाँ गएपछि मेरो जीवनले ओत गुमायो । अर्थ गुमायो । मैले मेरी शीरमाथिको ब्रह्माण्ड गुमाएँ ।’

आमाबीनाको जीवनलाई उनी परिभाषा गर्दै लेख्छिन्, ‘उहाँबिनाका यी ३६५ दिन मेरो जीवनको एउटा रित्तो पाना हो, जसमा अक्षर र वाक्य छन् तर अर्थ र आत्मा छैन ।’

अन्त्यमा उनले आफू विगत एक वर्षदेखि आमाको मायाको भोको भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘आमा ! सन्तानहरु मायाका भोका हुन्छन् । म एक वर्षदेखि भोको छु र यो भोक जीवनभरी मेटिनेछैन ।’