चैत्र १५, २०८० बिहीबार

पूर्व शिक्षक नन्दकुमारी शिक्षक सेवा आयोगमा सिफारिस, अध्यक्षमा पूर्वसचिव रेग्मी



शिक्षकबाट सेवा निवृत्त नन्दकुमारी महर्जन शिक्षक सेवा आयोगको सदस्यका लागि सिफारीस भएकी छन् । लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा सरकारले गठन गरेको शिक्षक सेवा आयोगका पदाधिकारी छनोट समितिले खुल्ला प्रतिस्पर्धाबाट महर्जनलाई सदस्यमा सिफारिस गरेको हो ।

छनोट समितिले आयोगको अध्यक्षमा भने पूर्व शिक्षा सचिव मधुप्रसाद रेग्मी र अर्को एकजना सदस्यमा डिल्लीराम रिमालको नाम सिफारीस गरेको छ । दरखास्त दिनेहरुमध्येबाट अध्यक्षका लागि ४ जना  र सदस्यको लागि ६ जना  सर्ट लिस्ट तयार पारी कार्ययोजना र अन्तर्वार्ता लगायतको परीक्षा लिँदा तीनजना उत्तीर्ण भएका हुन्।

अध्यक्ष पदका लागि खगराज पौडेल (बागलुङ), लक्ष्मीराम पौडेल (काठमाडौं) र विनोद केसी (ललितपुर) पनि आकांक्षी थिए । यसैगरी सदस्य पदमा गिता शिवाकोटी खरेल (काठमाडौं), झमक प्रसाद शर्मा (भक्तपुर), पवित्रा सुवेदी (सुर्खेत) र भक्तबहादुर ढकाल (सुर्खेत)ले आवेदन दिएका थिए ।

महर्जन जनसेवा मावि, किर्तिपुरकी पूर्व प्रधानाध्यापक हुन ।

एक अध्यक्ष र दुई जना सदस्य गरी ३ सदस्यीय शिक्षक सेवा आयोग गठन हुने प्रावधान शिक्षा ऐनमा छ । सदस्यमा एक महिला अनिवार्य रहने व्यवस्था छ । आयोगका पदाधिकारीहरुको नियुक्ति ५ वर्षको लागि हुन्छ ।

आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनुभन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको योग्यता तोकिएको छ ।

अध्यक्ष पदका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको र सदस्यका लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।

आयोगका अध्यक्ष ताना गौतमको कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि हाल शिक्षक सेवा आयोग पदाधिकारी विहीन छ । त्यसअघि नै आयोगका एक जना सदस्य ज्ञानी यादवको पद गत असारमा र अर्का सदस्य सिताराम पोख्रेलको पद २०७५ मंसिरदेखि रिक्त भएको थियो ।