बैशाख १, २०८१ शनिबार

एक सय रूपैयाँ तिरेर पढेकी अस्मिता संसारकै महँगो कलेजमा पढ्न स्विट्जरल्यान्ड



काठमाडाैं । मासिक रु एक सय शुल्कमा पढाइ हुने नेपालकै सस्तो विद्यालयमा पढेकी एक छात्राले संसारकै महँगो मध्येको कलेज पढ्न स्विट्जरल्यान्ड गएकी छन् ।

उत्तम सञ्जेलले सञ्चालन गरेको समता शिक्षा निकेतनबाट एसईई उत्तिर्ण गरेकी चितवनकी अस्मिता अधिकारी संसारको महंगोमध्ये एक र सुविधायुक्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न गएकी हुन् ।

अध्ययनका लागि वार्षिक करिब २ करोड शुल्क लाग्ने उक्त कलेजमा पढ्का लागि अस्मिताले चार वर्षे निःशुल्क छात्रवृत्ति पाएको समता शिक्षा निकेतनका संस्थापक  उत्तम सञ्जेलले बताए ।

जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ । भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए । नेपालमा जन्मिएका व्यापारी तथा गैस आवासीय नेपाली सँगमा पूर्व अध्यक्ष उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् ।

अस्मिताका बुबा अमृत ट्याक्सी चालक हुन् । रोजगारीका लागि खाडी मूलुक गएका उनी विरामी परेर नेपाल फर्केपछि छोराछोरीलाई पढाउने कुनै उपाय नहुँदा समतामा भर्ना गरेका थिए । एक छोरीले समताबाटै प्लस टु उत्तिर्ण गरेकी छन भने भर्खर एसईई दिएकी अस्मिताले सँसारकै महँगो मध्येको कलेज पढ्न अबसर पाइन् । अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन् । उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे । तर बीचमा यस्तो मौका जुरेको छ । छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।”

स्विट्जरल्याण्ड पुगेपछि कलेजका कार्यकारी निर्देशक रिचर्ड म्याकडोनाल्डसँग अस्मिता अधिकारी

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले धनीका छोराछोरीले पढ्ने ठाउँमा गरिबका विद्यार्थीले पनि पढ्न पाउनुपर्छ भनेर पहल गर्दै आएका थिए । पछिल्लो दुई वर्षयता महतोेले समता स्कुलमा आवतजावत बढाएका थिए । महतोले समता स्कूलको बारेमा बताएपछि गतवर्ष आइगलन कलेजका संस्थापक प्राध्यापक रिचर्ड म्याकडोनाल्ड आफै यहाँ आएका थिए । नेपालकै न्यून शुल्कमा अध्यापन गराउने स्कुलका संस्थापक उत्तम सञ्जेललाई वर्षमा एकजना विद्यार्थी छात्रवृत्तिमा स्वीजरल्याण्ड लैजाने कुरा गरेका थिए ।

त्यो समयमा अस्मिता कक्षा १० मा पढ्दै थिइन् । विद्यालयका धेरै विद्यार्थीहरुको म्याकडोनाल्डसँग सामुहिक रुपमा अन्तरक्रिया पनि भएको थियो । करिब पाँचसय जनासँग भएको अन्तरक्रियामा भविष्यमा पाइलट, डाक्टरलगायत बन्ने भनेका थिए भने अस्मिताले म्युजिसियन बन्ने भनेकी थिइन् । कक्षा १२ बाट एकजना विद्यार्थीलाई सो कलेजले छात्रबृत्ति दिने भनिएको कारण अस्मितालाई आफूले छात्रबृत्ति पाउने कल्पना सम्म पनि थिएन ।

म्याकडोनाल्डले सबैको फरक सोचाइकाबीच आएका मौखिक र लिखित कागज लगेका थिए । छात्रबृत्तिका लागि नाम आउने बेला अस्मिता छानिएको जानकारी आयो । ‘स्कूलमा मेरो नाम छात्रबृत्तिका लागि छनोट भयो भनेर ईमेल आएको रहेछ , प्रिन्सिपल सरले भनेपछि एकैछिन त मैले केही सोँच्नै सकिन के भएको हो भनेर’, अस्मिताले भनिन्, ‘पछि एकदमै खुसी लाग्यो, दिदी र म नाच्यौँ पनि । बुबा र ममी रुनुभएछ ।’ कलेजले बोलाएपछि अस्मिता जनवरी १० मा त्यहाँ पुगेकी छन् ।

समता स्कुल सन् २००० बाट अंग्रेजी माध्यममा नर्सरीदेखि डिग्रीसम्म मासिक सय रुपैयाँमा पढाउँदै स्कूल हो । पछि फाउण्डेसनले कलेज पनि सञ्चालन गरेर डिग्री सम्म मासिक १०० रुपैयाँमै पढाउँदै आएको छ ।

समता स्कुलका संस्थापक उत्तम सञ्जेलका अनुसार रिचर्डले अब हरेक वर्ष नेपालबाट एकजना विद्यार्थी उक्त कलेजमा पढाउन लैजाने वचन दिएका छन् ।

सानैदेखि तिक्ष्ण बुद्धिकी अस्मिताले कक्षा ६ देखि समतामा पढेकी हुन् । यो वर्ष एसइईमा ३.९ जिपिए अंक ल्याएर उत्तीर्ण गरेकी थिइन् ।

                                                          प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यसँग अस्मिता अधिकारी

उमेरले भर्खर १५ वर्षमा प्रवेश गरेकी अस्मिता आफूले राम्रोसँग अध्ययन गरेर समता स्कूल र नेपालको नाम विश्वमा चिनाउने तर अध्ययन सकेपछि नेपालमै फर्कने बताएकी छन् । ‘मलाई देश विकास गर्न मन छ,’ उनी भन्छिन्, ‘जहाँ पढे पनि म नेपालमै फर्किएर काम गर्न चाहन्छु, अरु देशको विकासको तुलनामा हामी धेरै पछि छौं, यहाँ भ्रष्टाचार मात्रै भएको सुनिन्छ ।’ आफ्नो रुची कानुनमा भएपनि कलेजमा अध्ययन गर्दा भविष्यको बाटो कोरिने उनको भनाई छ ।

अस्मिता स्ट्जिरल्याण्ड जानु अघि प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले उनलाई ल्यापटप किन्न पैसा दिएकी थिइन्। शाक्यले अस्मितालाई गत बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार बोलाएर रु ६० हजार दिएकी थिइन् । आफूले राष्ट्र बैंकको कर्मचारीका रूपमा प्रत्येक महिना पाउने निवृत्तिभरण (पेन्सन)को रूपमा प्राप्त रकमबाट सो रकम दिएको शाक्यले बताइन् ।

परिवारको अप्ठ्यारो आर्थिक स्थिति हुँदाहुँदै पनि छात्रवृत्तिमा पढ्न जाने मौका पाएकी अस्मितालाई शाक्यले मनमा कुनै द्विविधा नलिई अध्ययन गर्न सुझाएकी थिइन्। ‘आफूलाई कहिल्यै कमजोर नठान्नू,’ शाक्यलाई उद्धृत गर्दै सञ्जेलले भने, ‘तिम्रो पछाडि देश छ।’

‘सबै मानिस दुःखबाट सुखमा आउने हो,’ शाक्यले अस्मितालाई आफ्नो मौलिकता नगुमाउन र स्वावलम्बी बन्न आग्रह गर्दै भनेकी थिइन्, ‘म प्रधानमन्त्रीकी पत्नी हुँ, तैपनि म आफ्नो काम आफैं गर्छु, खाना बनाउँछु, भाँडा आफैं माझ्छु।’