बैशाख १५, २०८१ शनिबार

दल दर्ताका लागि आह्वान गर्दै निर्वाचन आयोग, नेकपा र सूर्य चिन्ह फ्रिज हुने



काठमाडौँ । विभाजित सत्तारुढ दल नेकपा कुन चाहिँ ‘आधिकारिक’ हो भन्‍ने टुंगो नलाग्दै निर्वाचन आयोगले दल दर्ताका निम्ति सूचना आह्वान गर्ने भएको छ ।

सरकारद्वारा घोषित चुनाव समयमै हुने परिस्थिति भएमा नेकपा र सूर्य चिन्ह फ्रिज हुने लगभग निश्चित देखिएको छ । नेकपा विवादका कारण सुस्त क्रियाकलापमा सीमित आयोगले रणनीति फेर्दै अघि बढ्न खोज्दैछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘दल दर्ताका निम्ति सूचना आह्वान गर्ने अन्तिम तयारी’मा पुगको जानकारी दिए ।

‘निर्वाचन प्रयोजन निम्ति दल दर्ताका प्रक्रियामा आयोग अघि बढेको छ’ प्रमुख निर्वाचन थपलियाले भने, ‘अब आयोगले छिट्टै निर्वाचन कार्यक्रमको पूर्ण तालिका र आचारसंहिता लागू गर्ने प्रक्रिया प्रारम्भ गर्छ ।’

आयोग अब नेकपा विभाजनभित्र नअल्झने र रणनीति फेर्दै अघि बढ्ने तयारीमा लागेको हो । आयोगले दश-बाह्र दिनको म्याद दिँदै सूचना सार्वजनिक गर्ने तयारी गरेको छ । दल दर्तासम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेपछि मात्रै आधिकारिक हुन्‍छ ।

सत्तारुढ नेकपाको दुई समूहको आधिकारिकता सवाल के हुन्‍छ भन्‍ने चाहिँ अन्यौलपूर्ण छ । आयोगको केही दिनअघिको निर्णयअनुरुप नेकपा विभाजनले वैधानिकता पाएन । आयोगले विवाद सिर्जना हुनुअघिको नेकपा मात्र वैधानिक हुने ‘प्रशासनिक निर्णय’ दिइसकेको छ ।

त्यो निर्णयबाट पुष्पकमल दाहाल माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाइसकेको छ । दाहाल(नेपाल समूहले प्रस्ट र नांगो रुप रुपमा नै बहुमत देख्दादेख्दै आयोगले आधिकारिता नदिएको जिकीर लिइरहेको छ ।

यतिखेर दुवै समूहका नेताहरु कानुन व्यवसायीसहित निर्वाचन आयोग धाइरहेका छन् । आयोगले विवाद भएको महिनासम्म कानुनी प्रक्रियाअनुरुप आधिकारिकता दाबीमा नआएको र आयोगले समस्या पार्नुको कुनै औचित्य नभएको जवाफ दिँदै आएको छ ।

आयोगका पदाधिकारीहरु भन्‍छन्, ‘उनीहरुलाई प्रारम्भदेखि दल विभाजनसम्बन्धी प्रावधानअनुरुप आउन आग्रह गरियो । तर उहाँहरु कानुनी बाटो समाउनुभएन ।

यतिखेर त्यसको दोष आयोगलाई दिइँदैछ । आयोगलाई अनियन्त्रित अधिकार प्राप्त छैन । आयोगलाई प्राप्त कानुनी अधिकारमै सीमित हुनुपर्ने हुन्‍छ ।’

आयोगको निर्णयअनुरुप अब केपी शर्मा ओली र पुष्पकमल दाहालको हस्ताक्षर चल्ने पार्टीलाई मात्र आधिकारिक ठान्‍नेछ । त्यो प्रक्रिया पूरा गरेको खण्डमा मात्र नेकपा दर्ता हुन्‍छ ।

त्यसरी नआएको खण्डमा आयोगले प्रक्रिया नपुगेको भन्दै निर्वाचन प्रयोजन निम्ति दर्ता गर्नेछैन । त्यसपछि स्वतः नेकपा दल, झण्डा, छाप, चिन्ह फ्रिज हुन पुग्छ ।

आयोगकै पुराना नजिरमा, विवादित र प्रक्रिया नपुगेको दल हुन सक्दैन । कुनै नयाँ दल दर्ता गर्ने हो भने सात दिनभित्र आऊँ भन्न सक्छ । त्यसमा आयोगले उनीहरुको पुरानो नाम, चिन्ह, छाप चाहिँ फ्रिज गर्छ । त्यसमा कानुनी व्यवस्था भन्द पनि आयोगले विशेष निर्णय गरी त्यो अवसर दिन सक्छ ।