बैशाख १, २०८१ शनिबार

२० वर्ष नपुग्दै आमा बन्छन् किशोरी



दिपायल । डोटीको शिखर नगरपालिका-९ कि अनिता (नाम परिवर्तन) स्थानीय दानकोट स्वास्थ्य चौकीमा आइन् । १८ वर्षीया अनिता गर्भवती थिइन् । उनी अल्ट्रासाउण्ड गराउनका लागि आएकी थिइन् ।

स्वास्थ्यकर्मी फलिता रावतले उनको अल्ट्रासाउण्ड गराउँदै सानै उमेरमा बच्चा जन्माउँदा हुने खतराबारे जानकारी गराइन् । उनले स्वास्थ्य सुरक्षाको विषयमा पनि उनलाई परामर्श दिइन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ ले २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था गरेको छ । तर डोटीमा १७/१८ वर्षकै उमेरमा बिहे गरी आमा बनेका धेरै घटना छन् । ‘१७/१८ वर्षका युवतीहरु पनि गर्भ जाँच गर्नका लागि आउने गरेका छन्,’ स्वास्थ्यकर्मी रावत भन्छिन्, ‘हामीले सम्झाएर पठाउने गरेका छौं ।’

गत साउन महिनादेखि पुससम्म दिपायल सिलगढी नगरपालिकामा मात्रै ७० जना २० वर्षमुनिका गर्भवतीले अल्ट्रासाउण्ड गराएको कलेना स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी ज्योति श्रेष्ठले बताइन् । ‘६ महिनाको अवधीमा नगरपालिकाभित्र २० वर्षमुनिका ७० जना सेवा लिन आएका छन्,’ श्रेष्ठले भनिन्, ‘केही किशोरीहरु दोहोरिएर पनि आएका हुन सक्छन्, तर सानै उमेरमा गर्भवती हुनेको संख्या कम छैन ।’

सानै उमेरमा गर्भवती भई गर्भ जाँच गराउने गरेका धेरै घटनाहरु रहेको बताउँछिन् जोरायल गाउँपालिका-३ मा रहेको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड गर्ने स्वास्थ्यकर्मी शान्ति जोशी । ‘१७ वर्षका बहिनीहरु पनि आएका छन्,’ जोशीले भनिन् ‘अल्ट्रासाउण्ड गर्दा कसैमा त जटिल स्वास्थ्य समस्या देखिन्छ ।’

आर्थिक वर्ष २०७६/०७७ मा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तरगत अल्ट्रासाउण्डको सेवा लिने एक हजार नौ सय २८ गर्भवतीमध्ये दुई सय ७८ जना २० वर्षमुनिका रहेका स्वास्थ्य कार्यालय डोटीको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले यस तथ्यांकले अहिले पनि २० वर्ष नपुग्दै किशोरीहरु आमा भइसक्छन् भन्ने देखाएको बताए । ‘तर विगतको तुलनामा २० वर्ष नपुग्दै गर्भवती हुने दर घटेको छ,’ मलासीले भने, ‘आर्थिक वर्ष २०७४/०७५ मा पहिलो पटक गर्भ जाँच गराउने कुल संख्याको २० प्रतिशत २० वर्ष मुनिका थिए, अहिले त्यो घटेको छ ।’ उनले आर्थिक वर्ष ०७५/०७६ मा उक्त संख्या १७ प्रतिशतमा झरेको र गत आर्थिक वर्षमा ११ प्रतिशतमा झरेको जानकारी दिए ।