बैशाख १, २०८१ शनिबार

टेनिसमा फ्रान्सलाई हराउँदै क्वाटरफाइनल पुगे प्रेरणा र सलोनीको जोडी



काठमाडौं । केन्यामा जारी जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स डबल्समा नेपाली खेलाडी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी क्वाटरफाइनलमा पुगेका छन् ।

सोमबारदेखि नैरोबीमा सुरु भएको खेल अन्तर्गत बुधबार लगातार दोस्रो जित हात पार्दै प्रेरणा र सलोनीको जोडी क्वाटरफाइनलमा पुगेको हो। यसपाली पहिलाे चरणकाे खेलमा नेपाली जाेडीले बुल्गेरियाकी एम्मा फान्टोउसिस र ग्रेट ब्रिटेनकी अन्जली कोटेचाको जोडीलाई ६-२, ६-२ ले पराजित गरेका थिए ।

बुधबार भएको दोस्रो खेलमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतोमान्गाको जोडीलाई ६-२, ३-६, ११-९ ले पराजित गर्दै प्रेरणा कोइराला र सलोनी तामाङको जोडी क्वाटरफाइनलमा पुगेका हुन् । यस अघि पनि केन्यामै भएको खेलमा गर्ल्स डबल्स तर्फ खेलेको प्रेरणा र सलोनीको जोडी सेमिफाइनलसम्म पुगेको थियो ।

सिंगल्सतर्फ भने प्रेरणा र सलोनी दुबैजना पराजित भइसकेका छन् । यसअघि केन्यामै भएको जे फोर सर्किट वान अन्तर्गत प्रेरणा सिंगल्सतर्फ दोस्रो चरणमा पुगेर पराजित भएकी थिइन् । पहिलो चरणको खेलमा १४ औं बरियता प्राप्त नेपालकी प्रेरणा दोस्रो चरणमा ग्रेट ब्रिटेनकी इमोजेन हाडाडसँग ६–१, ६–३ ले पराजित भएकी छिन् । सलोनी पहिलो चरणमा पराजित भएकी थिइन् ।