चैत्र १६, २०८० शुक्रबार

छात्राहरुले ब्वायफ्रेण्ड नलिइ कलेज प्रवेश गर्न नपाइने



काठमाडौं । ब्वायफ्रेण्ड नलिइ कलेज प्रवेश गर्न नपाइने भारतको सेन्ट जोन्स कलेजका नाममा जारी भएको सूचना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

फेब्रुअरी १४ मा पर्ने प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मा छात्राहरुले अनिवार्य रुपमा ब्वायफ्रेण्ड लिएर आउनुपर्ने सूचना सामाजिक सञ्जालमा भाइरल बनेको हो । ब्वायफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सूचनामा उल्लेख छ ।

कलेजका सहायक डिन प्राध्यापकको नामको हस्ताक्षर राखिएको सूचनामा छात्राहरुको सुरक्षाको कारणले यस्तो नियम राखिएको पनि जिकिर गरिएको छ ।

भ्यालेन्टाइन डेका दिन एक्ली छात्रालाई कलेज परिसरमा प्रवेश नदिइने पनि सूचनामा उल्लेख छ ।छात्राहरुले कलेजको गेटबाट प्रवेश गर्दा आफ्नो ब्वायफ्रेण्डसँग खिचाएको एक तस्वीरसमेत देखाउनु पर्नेछ ।

आफ्नो कलेजको नामको लेटरहेडमा त्यस्तो खालको सूचना सार्वजनिक भएपछि सेन्ट जोन्स कलेज प्रशासनको ध्यान आकर्षित भएको छ । सोसल मिडियामा भाइरल भएको उक्त सूचनामा कुनै सत्यता नरहेको र त्यो फर्जी रहेको कलेज प्रशासनले जनाएको छ । कलेजको नाममा त्यस्तो अफवाह फैलाउनेलाई सख्त कारावही हुने पनि कलेजले जनाएको छ ।