चैत्र १६, २०८० शुक्रबार

किन खुवाइँदै छ टीकापुरका १० हजार किशोरीलाई आइरन चक्की र फोलिकएसिड



टीकापुर – कैलालीको टीकापुर नगरपालिकाले नगपालिका भित्रका विद्यालय र समुदायमा १० हजार किशोरीलाई आइरन चक्की र फोलिकएसिड खुवाउन शुरु गरेको छ ।

नेपाल सरकारको स्वास्थ्य तथा पोषण कार्यक्रमअनुसार कैलाली जिल्लाभरी किशोरीलाई आइरन तथा फोलिकएसिड खुवाइने टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । विद्यालयस्तरमा आइतबारबाट खुवाउन सुरु भएको छ ।

‘७४ विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेरका किशोरीलाई आइरन तथा फोलिकएसिड चक्की खुवाउन सुरु भएको छ,’ उनले भने, ‘हरेक आइतबार १३ हप्तासम्म खुवाउने छौँ ।’

नगरपालिकाभित्रका सबै किशोरी विद्यालयको पहुँचमा नहुन सक्ने भएकाले विद्यालय बाहिर समुदायमा रहेका किशोरीलाई समेत खुवाइने नगरपालिकाले जनाएको छ ।

किशोरीमा रक्तअल्पताको समस्या हुने भएकाले नगरपालिकाले उक्त समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिकएसिड खुवाउन थालेको हो ।

विद्यालय तहमा चक्की खुवाउन ७४ जना शिक्षक, शिक्षिकालाई र समुदायस्तरका किशोरीका लागि खुवाउन १२० महिला स्वास्थ्य स्वयंसविकालाई तालीम दिएर परिचालन गरिएको छ । १३ हप्तासम्म खुवाइसके पछि सोही समयको अन्तरमा आउँदो वर्ष साउन, भदौ महिनादेखि फेरि १३ हप्ता गरी २६ हप्तासम्म उक्त चक्की खुवाइनेछ ।