बैशाख ४, २०८१ मंगलबार

महिला सेलेब्रेटीहरुको ट्वीटले भारतमा हंगामा, सरकार किसानकाे विषयमा बोल्न बाध्य



नयाँदिल्ली – किसान आन्दोलनको सवालमा महिला सेलेब्रेटीले ट्वीट गरेपछि भारतमा हंगामा मच्चिएको छ । ट्वीटपछि विदेश मन्त्रालयले विज्ञप्ती नै जारी गरी ठूला सेलेब्रेटीहरूले सोशल मीडियामा जिम्मेवारीपूर्वक व्यवहार गर्न आग्रह गरेको छ ।

अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिसकी भतीजी मीना ह्यारिस, पर्यावरणविद् ग्रेटा थुनबर्ग, पूर्व पोर्नस्टार मिया खलिफा र पप गायक रिहानाले जारी किसान आन्दोलनको सवालमा ट्वीट गरेका छन् । रीहानाले सो मुद्दामा ट्वीट गर्दै लेखेकी छन् , ‘किन कसैले पनि यस बारे कुरा गरिरहेको छैन ?’ अहिलेसम्म, रिहानाको ट्वीट साढे ५ लाख भन्दा धेरै पटक रिट्वीट गरिएको छ भने ३ लाख कमेण्ट आएका छन् ।

त्यस्तै मीना ह्यारिसले एक महिना भन्दा कम समय अघि संसारको सबैभन्दा पुरानो प्रजातन्त्रमा हमला र अहिले सबैभन्दा ठूलो जनसंख्या भएको प्रजातन्त्रमाथि हमला हुनु संयोग मात्र होइन भन्दै  यो एकअर्कामा अन्तरसम्बन्धित रहेकाे भनेकी छन् ।

‘भारतमा इन्टरनेट बन्द भएकोमा र किसान प्रदर्शनकारीहरू विरूद्ध सुरक्षा फौजले गरेको हिँसाका बिरुद्ध हामीले असहमति जनाउनै पर्छ ’, उनले ट्वीट गरेकी छन् । उनले संसारमा जताततै प्रजातन्त्र जोखिममा रहेको भनेर चेतावनी दिँदै लेखेकी छन् ‘एकता सत्यबाट शुरु हुन्छ।’ पर्यावरण संरक्षण अभियन्ता ग्रेटा थनबर्ग ले पनि भारतमा चलेकाे किसान आन्दोलनप्रति आफ्नो समर्थन रहेको जनाएकी छन् ।

‘युद्धप्रिय राष्ट्रवाद अमेरिकी राजनीतिमा बलियो शक्ति हो जस्तो कि यो भारत वा अरु कतै छ’, उनले ट्वीटमा लेखेकी छन्, ‘यो केवल तब रोकिन्छ, जब मान्छेहरू जागृत हुन्छन्, फासिस्ट तानाशाह कतै जानेवाला छैनन् ।’ पप गायक रिहाना र वातावरणीय कार्यकर्ता ग्रेटा थुनबर्गले पनि किसान प्रदर्शनको सवालमा ट्वीट गरेका छन्। यी अन्तर्राष्ट्रिय प्रतिष्ठितहरूले यस मुद्दामा ट्वीट गरेपछि पनि विरोधको सामना गरेका छन्।भाजपा नेता मनोज तिवारीले ट्वीट गरी रिहानालाई ट्याग गरेका छन्।

जिम्मेवार ट्वीट गर्न सरकारकाे अपील

भारतीय विदेश मन्त्रालयले जिम्मेवार ट्वीट गर्न सबमा अपील गरेको छ । ‘भारतको संसदले बृहत् बहस र छलफल पछि कृषि क्षेत्रसँग सम्बन्धित सुधारवादी कानून पारित गरेको छ, जुन किसानहरुप्रतिअझ बढी लचिलो छ र बजारको व्यापक पहुँच प्रदान गर्छ’, मन्त्रालयले भनेको छ, ‘यो सुधारले आर्थिक र पर्यावरणीय हिसाबले दिगो खेतीको मार्ग प्रसस्त गर्छ ।’

मन्त्रालय अगाडी भन्छ, ‘भारतका केही भागका किसानहरूको एउटा सानो समूह यी सुधारहरूसँग सहमत छैन। भारत सरकारले प्रदर्शनकारीहरूको भावनाको सम्मान गर्दै उनीहरूका प्रतिनिधिहरूसँग कुराकानी सुरु गरेको छ, । यसको प्रयासस्वरुप अहिलेसम्म ११ चरणमा वार्ता भैसकेको छ र केन्द्रीय मन्त्रीले गरेको यस वार्तमा भारतका प्रधानमन्त्रीको तर्फबाट यी कानूनहरू स्थगित गर्ने प्रस्ताव पनि आएको छ।’ परराष्ट्र मन्त्रालयले केही स्वार्थ समूहका तर्फबाट यी आन्दोलनहरूलाई गलत बाटोमा लैजाने प्रयास भइरहेको आरोप लगाएको छ ।

‘केही फरक स्वार्थ भएका समूहले यही आन्दोलनमा चलखेल गरेर आफ्ना एजेण्डा लागू गर्ने प्रयास गरिरहेका छन्, जुन दुर्भाग्यपूर्ण छ’,  विज्ञप्तिमा भनिएको छ, ‘जब की २६ जनवरीमा गणतन्त्र दिवस जस्तो राष्ट्रिय उत्सवमा पनि राजधानीमा हिंसा र तोडफोडको घटना भए ।’

मन्त्रालयले केही निहित स्वार्थ समूहहरूले भारत विरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउन पनि प्रयास गरेका र त्यस्ता सीमान्तकृत तत्वहरूबाट प्रेरित भएर विश्वका केही भागहरूमा महात्मा गान्धीको मूर्तिहरूको अपमान भएको जनाएको छ। ‘यसले भारत मात्र होइन, सम्पूर्ण सभ्य समाजका नागरिकलाई नै बिचलित बनाएको छ ।’, विज्ञप्तीमा भनिएको छ, ‘ हामी आग्रह गर्दछौं कि, त्यस्ता विषयमा टिप्पणी गर्नु अघि तथ्यहरू पत्ता लगाएर र विषयमा उचित समझ सिर्जना गरियोस्। सनसनीखेज सोशल मिडिया ह्याशट्यागको प्रलोभनमा पर्ने र सेलिब्रेटीहरूले गरेको टिप्पणी न त सही छ न जिम्मेवार।’