बैशाख १२, २०८१ बुधबार

फुटबलर सावित्रा घाईते, उपचारमा एन्फाले सहयोग गर्ने



काठमाडौं । घुँडामा चोट लागेर घा’इते भएकी राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा)को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहयोग गर्ने भएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत एन्फाले सावित्राको उपचार सकृय सहयोग गर्ने जानकारी गराएका हुन् । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा ल्याण्डिङ नमिल्दा सावित्राको घुँडामा चोट लागेको छ ।

एमआरआई गराएर हेर्दा सावित्राको एसिएल च्यातिएको देखिएको र प्रारम्भिक रिपोर्ट अनुसार सावित्राले करिब १ वर्ष खेल्न नसक्ने सम्भावना देखिएको जनाइएको छ ।

बुधबारसम्म सावित्राको चोटको बारेमा विस्तृत रिपोर्ट आउने छ । एन्फा अध्यक्ष शेर्पाले सावित्राको चोटले राष्ट्रिय टिममा अपुरणीय क्षति हुने भन्दै एन्फाले हरेक कोणबाट उपचारमा सहयोग गर्ने जनाए।

सावित्राले जारी लिगमा १० खेल खेल्दै ४३ गोल गरिसकेकी छिन् । उनले आर्मी र पुलिस विरुद्धको खेलमा गोल गर्न सकेकी थिइन् । यस्तै एक खेलमा २ गोल गरेकी थिइन् भने बाँकी ७ खेलमा ३ वा त्योभन्दा बढी गोल गरिन् । उनले चौदण्डीगढीविरुद्ध पहिलो चरणमा १२ र दोस्रो चरणमा ८ गोल गरेकी थिइन् ।