चैत्र १५, २०८० बिहीबार

अब रुपन्देहीमै हाउजिङ्गका घर किन्न पाइने, अहिले बुकिङ्ग गर्नेलाई १५ लाख छुट



बुटवल। अब रुपन्देहीको तिलोत्तमामा हाउजिङका घर किन्न पाइने भएको छ । बुटवल–भैरहवा सडकको भलबारी चोकदेखि १४ सय मिटर पूर्वतर्फ ‘तिलोत्तमा होम्स्’का १ सय २३ वटा घर बन्न लागेकोले हाउजिङका घर किन्न पाइने भएको हो ।

लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले ७ बिघा क्षेत्रफलमा २ अर्ब ५० करोड रुपैयाँ लगानी गरेर एकीकृत आवास विकास परियोजना ‘तिलोत्तमा होम्स्’ निर्माण शुरु गरेको हो । आधुनिक सहर र बसोबासलाई व्यवस्थित गर्ने उद्देश्यले सो कम्पनीले ‘तिलोत्तमा होम्स्’ परियोजनाको शुरु गरेको होम्स्का अध्यक्ष नेत्रलाल बनले बताए ।

‘अहिले आधुनिक शहर बन्ने क्रममा रहेको रुपन्देहीमा अव्यवस्थित बसोबासले समस्या निम्त्याएको हुनाले यसलाई व्यवस्थित गर्न आयोजना शुरु गरेको हो,’ उनले भने ।

विगतमा तिलोत्तमा, भैरहवा, बुटवलमा जग्गा कारोबार गर्दै आएका बनले पछिल्लो समय आधुनिक शहर बनाउन एकीकृत आवासको परियोजना शुरु गरेको बताए ।

अध्यक्ष बनका अनुसार करिब दुई महिना अघिबाट निर्माण शुरु भएको उक्त परियोजनामा आवास ‘ए’ र ‘बी’ समूह गरी दुई दुई समूहका आवास निर्माण हुनेछन् । दुबै प्रकारको घर साढे दुई तलाको बन्ने भएपनि क्षेत्रफल भने फरक भएकाले दुई वटा समूहमा विभाजन गरेको बनले जानकारी दिए।

‘ए’ समूहमा ८४ वटा घर बन्नेछ भने ‘बी’ समूहमा ३९ वटा घर बन्नेछन् । जसमा ‘ए’ समूहको घर १४ धुर जग्गामा २९ सय स्क्वायर फिटको क्षेत्रफलमा बन्नेछ । उक्त क्षेत्रफलमा बनेको घरको मूल्य २ करोड ५० लाख तोकेको बनले बताए ।

त्यस्तै, बी समूहमा बन्ने घर १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने जनाएको छ । बी समूहमा निर्माण भएको घरको मूल्य भने १ करोड ७५ लाख तोकेको उनको भनाइ छ । यी दुई समूहका घरको क्षेत्रफलमा फरक भए पनि सुविधा भने सबै एकै खालको हुनेछ ।

एकीकृत आवासमा नेपाल सरकारको सहरी विकास मापदण्ड अनुसार २६ फुट मूल बाटो तथा २४ फुटको सहायक बाटो रहने गरी भूकम्पप्रतिरोधी घर निर्माण गरिने छ । एकीकृत आवास क्षेत्र भित्रै खेल मैदान, सपिङ कम्प्लेक्स, बाल उद्यान, जिमखाना, स्वीमिङ पूल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुरेन्ट, सैलुन तथा मन्दिर समेतको सुविधा हुनेछ ।

निर्माणको शुरुवातीमै १५ वटा आवासको बुकिङ भइसकेको बनले बताए । कम्पनिले यही चैत मसान्तसम्ममा बुकिङ गर्ने व्यक्तिका लागि छुट्टाछुट्टै छुटको व्यवस्था गरेको छ ।

जस अनुसार जसमा २ करोड ५० लाख रुपैयाँ मूल्य पर्ने आवास बुकिङ गर्नेलाई १५ लाख र १ करोड ७५ लाख रुपैयाँ मूल्य पर्ने आवास बुकिङ गरेको अवस्थामा १० लाख छुट दिएको उनले बताए । तिलोत्तमा होम्स्का सम्पूर्ण संरचनाको निर्माण कार्य ३ वर्षमा सम्पन्न गरी घरधनीलाई घर र पुर्जा हस्तान्तरण गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।