बैशाख ११, २०८१ मंगलबार

राष्ट्रिय ध्वजावाहक विमानमा राष्ट्रपति बंगलादेश जाँदै, ४ वटा समझदारीपत्रमा हस्ताक्षर हुने



काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गर्दैछिन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ । नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । सो सम्झौता अनुसार बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनको लागि प्रयोग गर्न दिन सहमत भएको छ । बंगलादेशले नेपाललाई लामो समयदेखि पारवहन सुविधा प्रदान गर्दै आएको छ ।

त्यस्तै नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ । यससम्बन्धी सम्झौताका लागि मन्त्रिपरिषदको वैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ ।

राष्ट्रपतिकै भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ । नेपाल र बंगलादेशबीच पर्यटनको प्रचुर सम्भावना भएपनि अहिलेसम्म खासै उपलब्धी हुन सकेको छैन ।

अब सम्झौतापछि दुई देशबीच पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गरिने छ । नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदान प्रदान कार्यक्रम सम्बन्धी सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ । यी सम्झौताबाहेक नेपाल र बंगलादेशबीचमा हुने उर्जा सहकार्यको विषय, व्यापार प्रवर्द्धनलगायतका विषयमा छलफल परराष्ट्र मन्त्रालयको भनाइ छ ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि छ । सो कार्यक्रममा भण्डारी नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ ।

त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ । त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ । भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ । भ्रमणको क्रममा कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।