चैत्र १५, २०८० बिहीबार

डिम्याट खाता खाेल्ने मध्ये ४२ प्रतिशत महिला, शेयर कारोबारमा पनि ३१ प्रतिशत सक्रिय



काठमाडौं । नेपालमा शेयर कारोबारका लागि खोलिएका डिम्याट खातामध्ये ४२ प्रतिशत महिलाको नाममा रहेको तथ्यांक सार्वजनिक भएको छ । डिम्याट खाता खोल्ने ३२ लाख ७२ हजार ७६४ जनामध्ये ४२ प्रतिशत महिलाको खाता रहेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए ।

पूँजी बजारमा महिला सहभागिता बढ्दै जाँदा कारोबार गर्ने महिलाहरू पनि बढेका छन् । ढुङ्गानाका अनुसार दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत महिलाको खाता छ । त्यस्तै कुल मेरो शेयर खातामा करिब ४५ प्रतिशत महिला छन् ।

नेपाल स्टक एक्सचेन्जले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरेको नेपालको शेयर बजारमा महिला सहभागिता वृद्धिका चेतना जगाउन लैंगिक समानता लागि घण्टी बजाउने कार्यक्रममा अध्यक्ष ढुंगानाले नेपालको पूँजी बजारमा रहेका विभिन्न निकायहरूमा महिलाको सहभागिता अभिवृद्धि तथा समानता कायमका लागि यस कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताए ।

कोभिडको कारणले विश्वमा कोभिडको कारणले ५४ प्रतिशत समग्र रुपमा रोजगारी गुमाएको अवस्थामा पनि महिलाको पुँजी बजारमा सहभागिताले दिगो निजी क्षेत्रको विकासमा प्रोत्साहन गरेको बताइएको छ ।

कार्यक्रममा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का अध्यक्ष लक्ष्मण न्यौपानेले पहिलोपटक लैंगिक समानताका लागि घण्टी बजाउने कार्यक्रममा आईएफसी र युएन ग्लोबल कम्प्याक्ट नेपालसँग साझेदारी गर्न खुशी भएको बताए । ‘विश्वभरिका एकभन्दा बढी स्टक एक्सचेन्जको साथ लैंगिक समानताका लागि आयोजित कार्यक्रममा सहभागी लिन पाउँदा उत्साहित छौ, यसले हाम्रो श्रम शक्ति, अर्थतन्त्र र पुँजी बजारमा महिला सहभागिता मात्र बढाउँदैन, आर्थिक रुपमा पनि बलियो बनाउँछ,’ उनले भने ।

आइएफसीले गरेको हालै गरेको एक अध्ययनले कर्पोरेट क्षेत्रमा महिलाको सहभागिता एकदम न्यून छ । ऊर्जा क्षेत्रका १३२ बोर्ड सदस्यमध्ये ९ प्रतिशत मात्र महिला छन् । ‘महिला सहभागिता वृद्धिका लागि आइएफसीले महिलाको अग्रसरमा अघि बढेका १८ ऊर्जा कम्पनीमा लैंगिक असन्तुलन हटाउन सहयोग गरिरहेको छ,’ आइएफसीले लागि आवासीय प्रतिनिधि बाबाकार एस फायेले भनिन्, ‘नेपालमा कर्पोरेट बोर्डहरूमा महिला सहभागिता बढाउन अझ धेरै कुरा गर्न आवश्यक छ ।’

कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लैंगिक समानतामा प्रगति गर्न महिलामा वित्तिय साक्षरता बढाउनुपर्ने बताए । युएन ग्लोबल कम्प्याक्ट नेटवर्क नेपालका अध्यक्ष प्रदीपमान वैद्यले विश्व व्यापी अर्थतन्त्र महामारीबाट मुक्त हुन संघर्ष गरिरहेको अवस्थामा महिलाको बढ्दो सहभागितालाई पुनः पहिलाकै अवस्थामा पुर्याउनका लागि कार्यक्रमले सहयोग गर्ने बताउँदै यसले पुँजी बजार थप समावेशी बनाउन सहयोग पुर्याउन बताए ।