बैशाख ३, २०८१ सोमबार

सुत्केरी र गर्भवती खोज्दै घर घरमा उपप्रमुख : मासु, अण्डा र फलफूलको कोशेली



सुर्खेत । गाउँमा कुनै महिला सुत्केरी भएकाे थाहा पाउने वित्तिकै लेकबेसी नगरपालिकाकी उपप्रमुख शान्तिकुमारी छन्तेल  कोशली बोकेर घरघरमा पुग्छिन् । काेशेलीमा अण्डा, मासु, फलफूल तथा विभिन्‍न गेडागुडीहरु हुन्छन् ।

कोशेली लैजाने उपप्रमुख छन्तेलसँग स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवीकाहरु पनि साथै हुन्छन् । टाेलिले टोलमा पुगेर आमा समूहको बैठक राख्छन्,  कोशेली दिन्छन्,  अनि केही कुरा पनि सिकाउँछन् ।

सुत्केरी मात्र हाेइन गर्भवती महिलाको बारेमा जानकारी पाएपनि काेशेली त्यहाँ पुग्छ । काेशेली दिने प्रकृया उही हाे, आमा समूहको बैठक बसाल्ने र काेशेली दिने । सहित भएर गर्भवती र सुत्केरी महिलासँग भेट गर्न जान्छन् ।

‘यसरी भेट गर्दा कोशेली दिनुको साथै गर्भवती र सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा पनि छलफल हुन्छ’ उपप्रमुख छन्तेलले भनिन्, ‘छलफलमा आमा समूहका सबै पदाधिकारीको साथै स्वास्थ्यकर्मीहरुको पनि सहभागी हुन्छ ।’

नगरपालिकाभित्र रहेका सम्पुर्ण सुत्केरी आमाहरुलाई उपप्रमुख कोशेली वितरण सुरु गरिएको उनले बताइन् । पोषणमा सुधार ल्याउने उद्देश्यका साथ पालिकामा उपप्रमुख कोशेली वितरण गर्न लागिएको पालिकाकी उप–प्रमुख छन्तेल बताईन् । पालिका भर गठन गरिएका १०३ वटा आमा समूहहरुका सुत्केरी तथा गर्भवती महिलालाई कोशेली दिन लागिएको बताइन् ।

‘जुन् घरमा सुत्केरी तथा गर्भवती महिलाहरु हुन्छन् , त्यही टोलका आमा समूहको बैठक बसालेर कोशेली वितरण गर्ने गरेका छौ’ उनले भनिन्, ‘यसरी पोषिलो खाना लगेर भेट्न जाँदा उनीहरुलाई सुत्केरी तथा गर्भवती महिलालाई पोषिलो खाना खुवाउनुपर्छ भन्‍ने जानकारी हुने भएकाले कार्यक्रम प्रभावकारी भएको छ ।’चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको हो ।

एउटा समूहसुत्केरी आमालाइ आज लेकवेशी नगरपालिका स्वास्थ्य चौकीबाट उपप्रमुख छन्तेलले कोशेली वितरण गरि कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गरेकी हुन । कार्यक्रम सञ्चालन पछि सुत्केरी आमा र बच्चाको पोषणमा सुधार आएको बताइन् । ‘गर्भवती र सुत्केरीको स्वास्थ्यमा सुधार आएको छ’ उनी भन्छिन्, ‘आमा समूहमा छलफलले गर्दा गर्भवती र सुत्केरी छोरीबुहारीलाई आराम दिन पनि थालेका छन् ।’

कार्यक्रम सञ्चालनको लागि दुई लाख रुपैया बजेट विनियोजन गरिएको उपप्रमुख छन्तेलले जानकारी दिइन । कार्यक्रम सञ्चाल गरेपछि स्थानीयहरु करेसाबारीमा विभिन्‍न तरकारीहरु फलाउन थालिसकेको छन्तेलले बताइन् । कार्यक्रममा विपन्‍न परिवारलाई जोड दिएको उनको भनाई थियो ।