बैशाख १०, २०८१ सोमबार

तीन नेतृको पहलमा दाङ्गमा १२ अक्सिजन कन्सन्ट्रेटर



काठमाडाैं । दाङका तीनजना महिला सांसदले अस्पतालहरूमा अक्सिजन व्यवस्थाका लागि पहल गरेका छन् । सांसदहरु शान्ता चौधरी, गङ्गा चौधरी र कोमल वलीले कोभिडका बिरामीलाई उपचार गर्ने अस्पतालमा अक्सिजन अभाव हुन नदिनका लागि पहल गरेका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ मा ८ ओटा र प्रादेशिक कोरोना हस्पिटल दाङ तुल्सीपुरमा ४ ओटा गरि तत्कालको लागि जम्मा १२ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको सांसद शान्ता चौधरीले बताइन् । 

देउखुरीको लागि पनि पहल जारी रहेको उनको भनाई छ । ‘हामीले माग गरेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ मा ८ ओटा र प्रादेशिक कोरोना हस्पिटल दाङ तुल्सीपुरमा ४ ओटा गरि तत्कालको लागि जम्मा १२ वटा कन्सन्ट्रेटर व्यवस्था भएको छ’, उनले भनिन् ‘देउखुरीको लागि पनि पहल जारी छ ।

उनीहरुले बुधबारमात्रै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई भेटेर दाङ जिल्लाका कोरोना संक्रमित बिरामीहरूको उपचारमा आवश्यक पर्ने औषधिलगायतका स्वास्थ्य सामग्री माग गरेका थिए । सांसदहरूको मागपछि मन्त्री त्रिपाठीले तीन दिनभित्र दाङमा स्वास्थ्य सामग्री र औषधिहरू पठाउने आश्वासन दिएको सांसद शान्ता चौधरीले जानकारी दिइन् ।

‘रातभर दाङका जनताको फोन र म्यासेज आउँदा मुटु चिमोटियो , मन भारी भयो सुत्न सक्ने अवस्था नै भएन । माननीय कोमल ओली र गंगा चौधरी सहित तीन बहिनी स्वास्थ्यमन्त्री भेट्न गयौं र मन्त्री ज्युसँग अनुनय बिनय गरियो’, उनले भनिन्, ‘अनेकौं कोशीश गरिएको छ , उपाय लाग्ने सम्मको सहयोग गरिने छ । सबै मिलेर जुटौं न है १ साथीहरूले हामी हराएको सूचना जारी गर्नु भएको रहेछ, यहाछौ हामी सूचना जारी गर्नु पर्दैन है ।

दाङ जिल्लाको लागि अक्सिजन र अक्सिजन सिलिण्ड, पीसीआर परीक्षणका लागि आवस्यक सामग्रीहरू, पीपीई सेट १ हजार थान, सेनिटाइजर ५ सय लिटर, रेम्डिसिभर ३० हजार, आईसीयू, भेन्टिलेटर, अक्सिजन अन्सनड्रेटर र कोरोनाविरुद्धको उपलब्ध गराइदिन माग गरेका हुन् ।

दाङ जिल्लामा नयाँ भेरियन्टको कोरोनाभाइरसका कारण हजारौँ सर्वसाधारण बिरामी र प्रभावित भएका छन् । उनीहरूको उपचारमा विशेष ध्यान दिन माग गर्दै तीन जना महिला सांसदहरूले जनताको जीवन बचाउन आवश्यक स्वास्थ्य सामग्री र औषधिको माग गरेका हुन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीलाई भेटेपछि सांसदद्वय शान्ता चौधरी र गंगा चौधरी स्वास्थ्य विभाग टेकुमा पुगेर दाङमा छिटो अक्सिजन, स्वास्थ्य सामग्री र औषधिसहितको व्यवस्था गर्न दवाव दिएका छन् । विभागले पनि दाङका कोरोना संक्रमितको उपचारमा स्वास्थ्य सामग्रीहरू छिटो पठाउन सहयोग गर्ने आश्वासन दिएको सांसद चौधरीले बताइन् ।

विभागले स्टक रहेका स्वास्थ्य सामग्री पठाउन शुरु गरिने जनाएको छ । विभागले पाँच थान अक्सिजन अन्सनड्रेटर पठाउने समेत जनाएको छ ।