बैशाख ९, २०८१ आईतबार

दुई महिला नेतृले फिर्ता गरे सरकारी सुविधाको गाडि



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुईजना महिला नेतृले संसदबाट पाएको सरकारी सुविधाको गाडि फिर्ता गरेका छन् । संसदीय दलकी सचेतक शान्ता चौधरी र महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले सुविधाको गाडी फिर्ता गरेका हुन् ।

प्रतिनिधिसभा विघटन भएपछि सचेतक चौधरीले सुविधावापत पाएको बा १ झ ९१८० नम्बर र सभापति पालले प्रदेश ३ –०१, ००२ झ ४८७४ नम्बरको गाडि फिर्ता गरका हुन् । चौधरीले ९ जेठमा गाडि फिर्ता गरेकी थिइन भने पालले १३ जेठमा सुविधाको गाडि फिर्ता गरेकी छन् ।

प्रतिनिधिसभा बिघटन पछि जिम्मेवारीबाट मुक्त भएपछि राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता दिएको चौधरीले प्रतिक्रिया दिइन्। ‘पदमा रहँदासम्म र काम गर्दासम्म राज्यको स्रोत साधन प्रयोग गर्ने हो,’ चौधरीले भनिन्, ‘पदमै नरहेपछि किन राज्यको सम्पत्ति प्रयोग गर्नु भनेर मैले फिर्ता गरेकी हुँ।’

त्यस्तै नेतृ पालले प्रतिनिधिसभा विघटन भएसँगै सुविधाको गाडि फिर्ता गरेको जनाउँदै आफू सो समितिको सभापति हुँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

मन्त्री परिषदको सिफारिसमा शनिबार मध्यराति राष्ट्रपतिले प्रतिनिनिधसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते गरि दुई चरणमा प्रतिनिधिसभाको निर्वाचनको मिति पनि घोषणा गरेकी छिन्।

नेकपा एमालेमा प्रधानमन्त्री केपी ओली पक्षधर प्रतिनिधिसभा विघटनको पक्षमा रहेको भएपनि एमालेकै झलनाथ–माधव पक्ष लगायतका अन्य राजनीतिक दल प्रतिनिधिसभा विघटनको विक्षमा देखिएका छन् ।

संसद विघटनको विरुद्धमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव झलनाथ पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र बाबुराम पक्षका १४६ साँसदले सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन् । त्यस्तै विघटनबारे ३० वटा रिट दायर भएका छन् ।

त्यसमध्ये १९ रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा बिहीबार सुनुवाइ भैरहेका छन् भने कांग्रेस सभापति देउवासहित १४६ सांसदले हालेको सहित ११ वटा रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्चले जनाएको छ। उक्त रिटमाथी सुनुवाई नहुँदै दुई महिला नेतृले आफू जिम्मेवारीबाट मुक्त भएको भन्दै सवारी साधन फिर्ता गरेका हुन् ।