चैत्र ३०, २०८० शुक्रबार

आमा र शिशु जोगाउँदै मदाने :व्यथा लागेपछि बर्थिङ सेन्टर पुग्छन् गर्भवती !



गुल्मी – पहिलो बच्चा जन्माउन पाँच वर्षअघि पाल्पाको मिसन अस्पताल पुगेकी मदाने ६ पूर्कोटदहकी पार्वता नेपालीको गाडीभाडा र उपचारमा २५ हजार खर्च भएको थियो । तर गतवर्ष दोश्रो बच्चा जन्माउँदा भने गाउँकै पूर्कोटदह स्वास्थ्यचौकीमा रहेको बर्थिङ्ग सेन्टरमा न ठूलो खर्च भयो न गाउँछाडेर टाढा जानुप¥यो ।

पूर्कोटदह मात्र होइन, मदाने गाउँपालिकाका ७ वटै वडाका महिलालाई अहिले सामान्य अबस्थामा बच्चा जन्माउन हजारौँ खर्च गरेर बाहिर अस्पतालमा जानुपर्दैन । ७ वडा रहेको पालिकामा ८ वटा बर्थिङ सेन्टर स्थापना भई सुरक्षीत सुत्केरी सेवा दिन थालेपछि त्यस क्षेत्रका गर्भबती महिलाहरु यतिबेला अकालमै ज्यान गुमाउनु पर्लाकी भन्ने त्रासबाट मुक्त हुन थालेका छन् ।

आफु गर्भबती भएको थाहा पाएदेखि के होला र कसो होला भनेर मुहार खिन्न पार्दै मनभरी चिन्ता बोकेर सुत्केरी हुँदाको डरको कल्पना गरेर सपना देख्नेहरुको यति बेला चेहेरा समेत हसिलो देखिन थालेको छ ।

‘पहिला त घरमै सुडेनीमात्र राखेर सुत्केरी हुनुपर्ने, ब्यथा लाग्दा, डेट काट्दा के कसो हुने होला, केही भईहाल्यो भने उपचार गर्ने कोही छैनन भनेर एकदम डर लाग्थ्यो,’ गत मंसिर ४ गते म्यालपोखरी बर्थिङ सेन्टरमा बच्चा जन्माएकी मदाने ४, तुलसीमैराकी मीना नेपालीले भनिन्, ‘अहिले त व्यथा लागेपछि स्वास्थ्यचौकी गइयो, हेरचाह गर्ने सिस्टरहरु हुनुहुन्थ्यो, ढुक्क भएर बच्चा जन्माउने अबस्था छ ।’

गाउँपालिकाका ७ वडामा ८ वटा बर्थिङ सेन्टर छन् । बर्थिङ सेन्टर स्थापनाका लागि गाउँपालिकाले विभिन्न औजारहरु, तौलनाप्ने मेसिन, डेलिभरी बेड, पोष्ट डेलिभरी बेड, ईपी सेट , बेबी वार्मर, पर्दा तथा औषधीहरु उपलब्ध गराएको छ । त्यस्तै हरेक वर्थिङ सेन्टरमा सुत्केरी गराउने १ जना अनमीलाई एसबीए तालिम पनि दिएको गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए ।

यसअघि मदानेका महिलाहरुलाई सुत्केरी हुन तम्घास, सन्धिखर्क, पाल्पा र बुटवल पु¥याउनुपर्ने बाध्यता थियो । तर बर्थिङ सेन्टरमै सुरक्षित प्रसुती सेवा सञ्चालन भएपछि अहिले बच्चा जन्माउनकै लागि अस्पतालहरुमा लैजान हजारौँ खर्च गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । ‘मैले आफैले बच्चा जन्माउन बुटवल जाँदा ३० हजार भन्दा धेरै खर्च भएको थियो तर गाउँकै बर्थिङ सेन्टरमा बच्चा जन्माउँदा केही खर्च लागेन ’, मदाने ६, घीउपानीकी रुमा नेपालीले भनिन् – ‘यहाँ बच्चा र आमालाई लुगा र २८ सय रुपैयाँ पनि पाईयो ।’

बर्थिङ सेन्टरमा सुत्केरी हुनेहरुका लागि चार पटक स्वास्थ्य परिक्षण गराउनेहरुलाई रु १ हजार, गाडी भाडा रु १ हजार, बच्चा र आमालाई लुगा उपलब्ध गराईन्छ । त्यस्तै मदाने गाउँपालिकाले निःशुल्क एम्बुलेन्स तथा बच्चा जन्माइसकेपछि सागपातका लागि बीउपल समेत उपलब्ध गराउने रेको छ ।

मदानेले नियमित गर्भजाँच र गर्भवतिलाई पौष्टिक आहारका लागि प्रोत्साहन गर्ने उद्देस्यले गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तर्गत रु १ हजार बराबरको पौष्टिक आहार बोकेर उपाध्यक्ष आफै गर्भवति महिलाको घर घरमा पुग्ने कार्यक्रम छ ।

मदाने गाउँपालिकामा बर्थिङ्ग सेन्टर स्थापना भएपछि जम्मा ३७१ जना बच्चा जन्मिएको मध्ये बर्थिङ्ग सेन्टरमा ३३७ जना जना घरमै ३४ जना शिशु जन्मिएको स्वास्थ शाखा प्रमुख तिर्थराज पन्थीले बताए । बर्थिङ्ग सेन्टरले रिफर गरेर बाहिर पठाएका गर्भवतीका २ शिशु अस्पताल लैजाँदालैजाँदै बाटोमा मृत्यु भएको थियो । गर्भवतीको नियमित स्वास्थ्य परिक्षण र सुत्केरीको जाँच गरेर शिशुमृत्युदर शून्यमा झार्ने प्रयास भैरहेको पन्थीको भनाई छ ।

पालिकाले गर्भवती महिलाको घरमा झण्डा राख्ने कार्यक्रम पनि शुरु गरेको छ । घरमा झण्डा राखेपछि आगन्तुक तथा जनप्रतिनिधि र कर्मचारीहरु गर्भबतीको घरमा पुग्ने, स्वास्थ्य अबस्थाबारे जानकारी लिने र परिवारलाई सल्लाह सुझाव दिने गरेको गाउँपालिकाले जनाएको छ ।

आफूहरु जनताको स्वास्थ्य सेवा पाउने हकलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको र गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको ज्यान जोगाउन बर्थिङ सेन्टरका साथै गर्भवतिसँग उपाध्यक्ष कार्यक्रम समेत सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताईन ।

बर्थिङ सेन्टरमा सामान्य अवस्थामा सुत्केरी गराउने देखि अत्यधिक रक्तश्राव हुने (पोष्ट पार्टम हेम्बरेज), उल्टो अबस्थामा बसेको जुम्ल्याहा बच्चा जन्माउने (बीज्र प्रिजेन्टेसन ट्वीन्स डेलिभरी)  लगायतका जटिल अबस्थामा पनि सुत्केरी गराइएको पूर्कोटदह स्वास्थ्यचौकी ईन्चार्ज नन्दा थापाले बताईन ।

गाउँपालिका अध्यक्ष दान बहादुर केसीले गाउँपालिकाका जनतालाई घरदैलोमै स्वास्थ्यसेवा उपलब्ध गराउन पालिका लागि परेको बताए । ‘पालिकाका सबै वडामा बर्थिङ् सेन्टर, ६ वडामा एम्बुलेन्स संचालन गर्नुका साथै एउटा ल्याब समेत स्थापना गरिएको छ’, उनले भने, ’यसबाट कोही पनि जनताहरु अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता अब रहँदैन ।‘