बैशाख ८, २०८१ शनिबार

मृत आमाको काखमा ३२ महिने छोराको रुकुम-नेपालगञ्ज बस-यात्रा



काठमाडौं । सामाजिक संजालमा मृत आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइरल बनेको छ । जसले आम मानिसलाई भावुक बनाएको छ ।

उक्त तस्वीर हो, रुकुमपश्चिम आठबिसकोट नगरपालिका ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराको । बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निधन भएको थियो । त्यसपछि काखमा रहेको उनको छोरा बसको सिटबाट खसेर रोएपछि मात्रै बसका अन्य यात्रुहरुले थाहा पाएछन्, उनी मृत भइ सकिन् भनेर ।

स्थानीयका अनुसार उनी लामो समयबाट मुटुको समस्याले ग्रसित थिइन् । उनले स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार गराए पनि सन्चो नभएपछि श्रीमानसँग सल्लाहमै उपचारको लागि नेपालगञ्ज जाने निर्णय गरेकी थिइन् । उनका श्रीमान नेपालगन्जमर् कार्यरत रहेको बताइएको छ ।सोही अनुसार उनी बिहीबार राति बस चढेर नेपालगञ्जतर्फ हिँडिन् ।

काखमा ३२ महिनाको छोरा थियो । छोरालाइ छाडेर जाने अवस्था नभएपछि काखमै बोकेर हिँडिन् । उनका श्रीमान दलबहादुर बटाला नेपालगञ्जमै ठेकापट्टाको काम गर्दै आएकाले उनको उपचारको लागि बोलाएका थिए ।

स्थानीयका अनुसार श्रीमान बाहिरै भएकाले घरको सबै व्यवस्थापन गरेर घर रेखदेख गर्ने जिम्मा छिमेकीलाई दिइएको थियो । यात्राकै क्रममा पटक-पटक श्रीमान-श्रीमतीबीच कुराकानी भएको थियो । उनले श्रीमानलाई आफ्नो अवस्था सामान्य भएको बताउँदै आएकी थिइन् । तर यात्राका क्रममै उनले असहज भएको भनेपछि बसका स्टाफले दोस्रो सिटमा ल्याएर बच्चासँगै राखेका थिए । यात्राकै क्रममा छिप्पिँदो रातसँगै उनको प्राण गएछ ।

त्यसपछि मृतकको काखको बच्चा सिटबाट झरेर रोएछ । हेर्दा उनको निधन भएको पाइएपछि अन्य यात्रुहरु अत्तालिएका थिए । बच्चा रोइरहेको हुँदा केसीलगायत यात्रुले पालैपालो बोके। बच्चा फकिएन। रोइरह्यो निरन्तर। त्यसपछि धर्माकुमारीकै काखमा बच्चालाई राखिएको थियो। त्यही बेला केसीले तस्बिर खिचेको जनाइएको छ।

यात्रुले उक्त घटनाबारे राति नै धर्माकुमारीका श्रीमान्लाई खबर गरे। कोहलपुुर चौराहामा पुग्दा बिहानको ५ बजिसकेको थियो। श्रीमान् दलबहादुर र काका मनीराम आइपुगे।

मनीरामका अनुसार नाबालक छोरा बुवा देखेर अलिक शान्त बने। ‘धर्माकुमारीलाई तत्कालै नेपालगन्ज मेडिकल कलेज कोहलपुर लग्यौं। त्यहाँ पनि उपचार सम्भव नभएपछि भेरी अस्पताल नेपालगञ्ज लग्यौं। डाक्टरले दुई–तीन घण्टाअघि नै मृत्यु भइसकेको बताए। हामी छाँगाबाट खसेझै भयौं’, उनले भने।

राडी हुँदै जाजरकोट, सुर्खेत राकम, सल्लीबजार सल्यान, पुनः सुर्खेत मेहेलकुुना, छिन्चु हुँदै बर्दियाको बाटो भएर कोहलपुर पुग्न सकिन्छ। बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५–६ बजेतिर मात्रै कोहलपुर पुग्न सक्छ। दुरी झन्डै पौने तीन सय किलोमिटर रहे पनि सबै पहाडी भूभाग पर्ने हुँदा यात्रा कठिन र ढिलो हुन पुग्छ। गाडी विस्तारै उज्यालो भएपछि कोहलपुर पुग्ने गरी गुड्छ।

उनीहरू धर्माकुमारीलाई लिएर शुक्रबार बिहान ५ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुगेका थिए। उक्त अस्पतालले तत्कालै भेरी अस्पताल नेपालगन्जमा रेफर गरेको थियो। भेरी अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए।

अस्पतालको इमर्जेन्सीमा कार्यरत प्रहरी जवान दीपेन्द्र बीसीले घटना सुनाए, ‘बिहान ६ बजे इमर्जेन्सीमा आउनुभएको थियो। डाक्टरले दुई–तीन घण्टा अगाडि नैै मृत्यु भइसकेको भन्दै मृत घोषणा गर्नुभएको थियो।’

शवको पोस्टमार्टम गरिएन। नेपाली सेनामा कार्यरत उनका दाजु रत्न मल्लले बहिनीको अन्तिमपटक मुख हेर्ने भनेपछि शुक्रबार दिनभर शव भेरी अस्पतालमै राखिएको थियो। मल्ल शनिबार बिहान २ बजेतिर मात्र डडेलधुराबाट नेपालगन्ज पुगेका थिए।

बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदीमा शनिबार बिहान ९ः३० बजे धर्माकुमारीको दाहसंस्कार गरियो। सामाजिक सञ्जालमा फोटो भाइरल भएका कारण स्वस्फूर्त रूपमा दाहसंस्कारमा मलामीको संख्या धेरै भएको थियो। राप्ती नदीमा पुग्दा झन्डै १५० मलामी भएको काका ससुरा मनिराम बटालाले बताए।

मम्मी भन्दै भक्कानिन्छन्, ३२ महिने किरण
राप्ती नदीमा शनिबार बिहान ९ः३० बजेतिर धर्माकुमारीको दाहसंस्कारका क्रममा ३२ महिनाका किरण नेपालगन्जको घरबारी टोलमा हजुरबुबा मनिरामको घरमा बालबालिकासँग थिए। उनी बेला–बेलामा आमालाई सम्झेर रोए। मनिरामले अन्नपूर्ण पोस्ट्सित टेलिफोन सम्पर्कमा भने, ‘घरि निदाउँछ। बिउझिँदा मम्मी–मम्मी भन्छ। बाबाबाहेक अरू कसैसँग बस्न मान्दैन।’

नेपालगन्जबाट शनिबार साँझ रुकुम पश्चिम फर्कँदै गर्दा उनी बाबाको काखमै बसेका थिए। जसरी आमाको काखमा नेपालगन्ज आउँदाको बखतमा झैं। बाबाको काखमा पनि आमा नै खोजिरहेका छन्। अरूसँग त बस्न नै मान्दैनन्। रिजर्ब गरिएको गाडीमा उनीहरू नेपालगन्ज, कोहलपुर, बर्दियाको बबई, सुर्खेतको हर्रे, छिन्चु, सल्ली बजार, राकम, जाजरकोटको छेडागाड, कुदु मटेला हुँदै रुकुम पश्चिमको आठबीसकोट पुग्नेछन्।

दलबहादुरले धर्माकुमारीको उपचार पहिले जिल्लाकै अस्पताल र मेडिकलमा उपचार गरिएको बताए। केही दिनअघि मात्रै पश्चिम रुकुमको सल्ले पुगेर उपचार गराएकी थिइन्। चिकित्सकको सल्लाहमा औषधि सेवन गरिरहेकी थिइन्। तर, बिसेक भएन। दलबहादुरका अनुसार धर्माकुमारी मुटुका बिरामी थिइन्। रक्तचाप उच्च र कम हुने समस्या थियो। श्रीमतीको उपचारमा करिब ४ लाख खर्च भएको उनले सुनाए।

उक्त भावुक तस्बीर अहिले सामाजिक संजालमा भाइरल बनेको हो । बस नेपालगञ्ज पुर्याइएपछि श्रीमान दलबहादुरले जिवित हुने आशामा विभिन्न अस्पताल पुर्याएका थिए । तर चिकित्सकहरुले धर्माकुमारीलाई मृत घोषणा गरेका थिए । दलबहादुरले पहिलाको श्रीमतीले छोडेपछि धर्माकुमारीलाई दोस्रो बिहे गरेर ल्याएका थिए ।