चैत्र १५, २०८० बिहीबार

छात्रासँगै कक्षामा बसेर हिमानीले भनिन्, ‘मलाई पनि म्याथ र साइन्स गाह्रो भएको थियो’



पूर्व युवराज्ञी हिमानी शाहले जनकपुरको सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी छिन् ।

बोतलमा अशुद्ध पानी राखेपनि पानीमा भएको ब्याक्टेरिया, आरसेनिकलगायतका पदार्थ नष्ट हुने भएकोले बोतलमा राखेपछि पानी पिउन योग्य हुने किसीमको बोतल वितरण गरेकी हुन् ।

उनले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रासँगै बेन्चमा बसेर अन्तरक्रिया गरिन् । साधारणतया सर्वसाधारणसँग खासै कुराकानी नगर्ने हिमानीले भने यसपटक आफूसँगै बसेका तीनजना छात्रासँग पढाइकै विषयमा कुराकानी गरिन् । उनले छात्रालाई पालैपालो ‘कुन विषय मनपर्छ ’ भनेर प्रश्न सोधिन् ।

जवाफमा छात्राले ‘म्याथ र साइन्स’ भने । साथै म्याथ र साइन्स गाह्रो हुने एक छात्राले हिमानीलाई बताइन् । हिमानीले छात्राको कुरामा सहमति जनाउँदै हाँस्दै भनिन्, ‘हो मलाई पनि गाह्रो भएको थियो ।’

विद्यालयका एक प्रतिनिधिले हिमानी समक्ष विद्यालय समयमा छात्राले भोग्नुपरेका विभिन्न समस्याबारे समेत अवगत गराए ।

हिमानीलाई धेरैले मृदुभाषी समेत भन्छन् । उनले कार्यक्रमका बेला गर्ने सम्बोधन तथा भाषणमा पनि धेरैले रुची राख्छन् । हिमानी ट्रष्टको अध्यक्षता गरिरहेकी उनी नेपालका दुर्गम जिल्लामा थुप्रै पटक सहयोग सामग्री लिएर पुग्ने गरेकी छिन् । हिमानी​लाई थुप्रैले बाहिरी र भित्री दुबै रुपमा सुन्दर भएको बताउने गर्छन् । उनको सामाजिक कार्यसँग जोसुकै अवगत छन् ।

हिमानी ट्रस्टले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी आइतबार जनकपुर पुगेकी हुन् । जनकपुरधाम पुगेसँगै उनले आइतबार नै जानकी मन्दिरमा विशेष पूजा आराधना गरेकी छिन् ।