चैत्र १५, २०८० बिहीबार

आफ्ना प्रेमी पाउन शाही हैसियत त्याग्दै जापानी राजकुमारी



आफूले रोजेको प्रेमी कामुरोसँग विवाह गर्नका लागि जापानी राजकुमारी माकोले शाही हैसियत त्याग्ने घोषणा गरेकी छन्।

विवाह गर्न कि शाही हैसियत त्याग्नुपर्ने कि अरुसँग विवाह गर्ने विकल्प आईपर्दा उनले राजपरिवारको शाही हैसियत त्यागेर भएपनि आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी हुन् ।

जापानको कानुन बमोजिम शाही हैसियत त्याग्नु पर्छ सर्वसाधारणसँग विवाह गर्ने राजपरिवारको महिला सदस्यले तर पुरुष सदस्यले पर्दैन।

राजकुमारी माकोका प्रेमी कामुरो उनका पूर्व सहपाठी समेत हुन् ।

जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह तय भएको जनाएको छ।

उनीहरूबीच सन् २०१८ मै विवाह तय भए पनि राजकुमारीसँग विवाह गर्न लागेका कोमुरोको परिवारमा आएको भनिएको आर्थिक सङ्कटका कारण विवाह सारिएको थियो।

विवाहपछि नवदम्पती अमेरिकामा बस्ने बताइएको छ। उनका प्रेमी केइ कोमुरो अमेरिकामा कानुन व्यवसायीको काम गर्दै आएका छन्।

स्थानीय सञ्चार माध्यममा यो जोडीबारे धेरै समाचारहरू आएका थिए। राजकुमार फुहिमितो र कोमुरोको परिवारलाई जोडेर पछिल्ला वर्षहरूमा आएका समाचारले राजकुमारी माको मानसिक आघातको सिकार भएको इम्पेरियल हाउसहोल्ड एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था क्योदोले जनाएको छ।

यस अघि राजपरिवारकै अर्की सदस्यले पनि पुरुष उत्तराधिकारी चयन गर्न दिइएको दबाबका कारण तनाव सम्बन्धी समस्याबाट बिरामी परेको बताइएको छ। जापानमा मानसिक समस्यालाई समाजमा नराम्रो रूपमा चित्रित गर्ने गरिएको छ।

राजकुमारीको जोडीबीच सन् २०१२ मा टोकियोको एक अन्तर्राष्ट्रिय क्रिश्चियन विश्वविद्यालयमा भेट भएको थियो।

सन् २०१७ ुइन्गेजमेन्टु गरेको यो जोडीले त्यसको एक वर्षपछि विवाह गर्ने तय गरेको थियो।

तर त्यही बीचमा कोमुरोकी आमाले एक जनासँग लिएको ऋण नतिरेको र उनको परिवार आर्थिक समस्यामा रहेको समाचारहरू बाहिर आए। तर दरबारले विवाह स्थगित हुनुमा त्यो कारण नभएको बताउँदै आएको छ। यद्यपि राजकुमार फुहिमितोले उनीहरूको विवाह अघि आर्थिक विषयहरू सल्टाउनु पनि महत्त्वपूर्ण रहेको बताए।

राजकुमारी माकोले जापानमा परिवारबाट छुट्टिने शाही सदस्यले पाउने १३ लाख अमेरिकी डलर समेत त्याग गर्ने बताइएको छ।

उनले परम्परागत शैलीको शाही विवाह समेत नगर्ने अपेक्षा गरिएको छ। उनले दुवै सुविधा त्याग गरेको अवस्थामा उनी दुवै सुविधा त्याग गर्ने पहिलो राजपरिवार सदस्य बन्नेछिन्।