चैत्र १५, २०८० बिहीबार

गुल्मीमा एक बर्षमा तीन हजार महिला आमा बने, ९ प्रतिशत ‘होम डेलिभरी’



गुल्मी – सुत्केरी गराउन डोकोमा बोकेर सदरमुकाम तम्घास लैजाँदै गर्दा बीचबाटोमै मृत शिशु जन्मेको घटनाले मालिका गाउँपालिका–५ छापहिलेकी सावित्रा खड्काको मुटु अहिले पनि सिरिंग हुन्छ ।

व्यथा लागेको चार दिनपछि अस्पताल लैजाँदा आफ्नो ज्यानले पनि हार मानेको ३२ वर्षअघिको घटना उनी सम्झन चाहन्नन् । ‘घरमै जन्मिन्छ कि भन्दा भन्दै चार दिन बित्दा पनि बच्चा नजन्मिएपछि डोकोमा बोकेर लैजाँदा मलाई बाँचेर फर्किन्छे कसैले भनेका थिएनन्,’ ५४ वर्षीया खड्काले भनिन्, ‘सेउघा भन्ने ठाउँमा पुग्दा मरेको बच्चा निस्कियो, म पनि बाँचुला भन्ने थिएन, बाँचियो ।’

अहिले मालिकामा सावित्रालाई जस्तै डोकोमा बोकेर लैजानुपर्ने अवस्था छैन । गाउँपालिकाका आठवटै वडामा निःशुल्क बर्थिङ सेन्टर खुलेका छन् । तीन वर्षदेखि कुनै महिला घरमा सुत्केरी भएका छैनन् । आफैं महिला स्वास्थ्य सेविका रहेकी सावित्रा गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन र बर्थिङ सेन्टरमा मात्रै सुत्केरी गराउन सल्लाह दिने गरेको बताउँछिन् । मालिका अहिले ‘शून्य होम डेलिभरी’ पालिका घोषणा भएको छ । ३ सय ३२ जना महिला बर्थिङ सेन्टरमै सुत्केरी भएका छन् । लगातार तीन वर्षसम्म घरमा प्रसूति हुने महिला नभएपछि ‘शून्य होम डेलिभरी’ वा पूर्ण संस्थागत प्रसूति पालिका घोषणा गरिएको हो ।

मालिकाले सबै महिलालाई स्वास्थ्य संस्थामा मात्रै सुरक्षित सुत्केरी गराउन २०७५ सालदेखि अभियान चलाएको थियो । ‘गर्भवतीको घरमा हरियो झण्डा, हातहातमा अण्डा’ कार्यक्रम, स्वास्थ्यकर्मीलाई तालिम तथा प्रोत्साहनका साथै स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म जानका लागी आठवटै वडामा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले बताए ।

विकट भनिने गाउँपालिकालाई जिल्लामै पहिलो पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषणा गर्न सफल भएको गाउँपालिका अध्यक्ष रितबहादुर थापाले बताए । ‘हाम्रो गाउँपालिकालाई जनचेतना, शिक्षाको हिसाबले पछाडि छ भन्छन्, छ पनि,’ उनले भने, ‘तर, जनचेतनाको वृद्धि गरी सबै गर्भवतीलाई अस्पतालमा सुत्केरी गराउन सफल भएका छौं ।’ १२ स्थानीय तहमा गत वर्ष २ हजार ६ सय ५० जना गर्भवती महिला बर्थिङ सेन्टर र स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।

तीमध्ये रेसुंगा नगरपालिकाका २ सय १९ र मुसिकोट नगरपालिकाका ३ सय १६ रहेका छन् । त्यस्तै, धुर्कोट गाउँपालिकामा २ सय ४६, मदानेका ३ सय ४२, गुल्मी दरबारका १ सय २८, सत्यवतीका १ सय ४७, कालिगण्डकीका १ सय ३४, इस्माका १ सय ४७, छत्रकोटका २ सय ६३, रुरुका १ सय ३६ र चन्द्रकोट गाउँपालिकाका २ सय ४० जना स्वास्थ्य संस्थामै सुत्केरी भएको सम्बन्धित स्थानीय तहका स्वास्थ्य प्रमुखले जनाएका छन् ।

अझै जिल्लामा वर्षमा ९ प्रतिशत महिला घरमै सुत्केरी हुन्छन् । गत आर्थिक वर्षमा महिला २ सय ८९ महिला घरमा तथा बाटोमा सुत्केरी भएका छन् । घरमा सुत्केरी हुनेमध्ये सबैभन्दा धेरै मदाने र धुर्कोट पालिकाकाका छन् । मदाने गाउँपालिकामा २९ जना, धुर्कोट गाउँपालिकामा २३ जना घरमै सुत्केरी भएको तथ्यांक छ ।

गत वर्ष रुरुमा नौ जना, छत्रकोटमा सात जना, मुसिकोटमा आठ जना, गुल्मीदरबारमा चार जना र रेसुंगा नगरपालिकामा दुई जना महिला घरमै सुत्केरी भए । कालिगण्डकी, इस्मा र चन्द्रकोटले घरमा सुत्केरी भएका महिलाको तत्थ्यांक नै राखेका छैनन् । जिल्लाका ९३ वडामध्ये ६२ वडामा बर्थिङ सेन्टर छन् ।
तीमध्ये मालिकाले सबै वडामा बर्थिङ सेन्टर स्थापना गरेर घरमा सुत्केरी नहुने पहिलो पालिका बनेको हो । ७ वडा रहेको धुर्कोट, ८ वडा रहेको मदाने र ६ वडा रहेको छत्रकोटले पनि सबै वडामा बर्थिङ सेन्टर स्थापना गरेका छन् । आठ स्थानीय तहले भने अझै सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्न सकेका छैनन् । चन्द्रकोट र सत्यवतीमा ६/६ वटा, मुसिकोट र इस्मामा पाँच/पाँच, गुल्मीदरबारमा चार तथा कालिगण्डकी र रुरुमा तीन/तीनवटा बर्थिङ सेन्टर छन् । सदरमुकाममा रहेको रेसुंगा नगरपालिकामा एउटा मात्रै बर्थिङ सेन्टर छ ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरीको आकर्षण बढाउन कार्यक्रम सञ्चालन गरे पनि जनचेतनाको अभावले गर्दा न्यूनीकरण गर्न नसकिएको कालिगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले बताइन् । गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरीका लागि उपहार कार्यक्रम सञ्चालन गर्दा पनि स्वास्थ्य संस्थामा प्रसूति गराउन आउने गर्भवती महिलाको संख्या न्यून रहेको उनले बताइन् ।

‘हामीहरूले कुनै पनि महिला घरमा सुत्केरी हुन नपरोस् भनेर उहाँहरूकै लागि एम्बुलेन्स सेवा निःशुल्क गरेका छौं, उपहार पनि दिन्छौं,’ उनले भनिन्, ‘तर पनि सोचेजति बर्थिङ सेन्टर, अस्पताल जानुहुन्न ।’ आमा र शिशुको ज्यान जोगाउन स्वास्थ्य संस्थामै सुत्केरी गराउनेको संख्या सत प्रतिशत पुर्‍याउन अन्य कार्यक्रम पनि ल्याउने सोचमा रहेको उनले बताइन् ।