बैशाख १०, २०८१ सोमबार

लोकदोहोरीमा बालबालिका



माघ २६, २०७८ धादिङकी कमला घिमिरे सानै उमेरदेखि लोकदोहोरी सुन्न र गाउन रुचाउँथिन् । उनी लाइभ लोकदोहोरी ‘इन्द्रेणी’ कार्यक्रम हेर्दै हुर्किइन् । यही कार्यक्रमले उनलाई लोकदोहोरीको भाका र टुक्का जोड्न सिकाइदियो । नौ वर्षदेखि नै उनी विद्यालयमा, गाउँमा लोकगीत गाउँथिन् ।

गीत गाएर उनले विद्यालयमा थुप्रै पुरस्कार पनि जितिसकेकी छन् । चर्चित लोकदोहोरी गायक राजु रसँगको लाइभ दोहोरी प्रतियोगिताले उनको खुबीलाई चर्चित बनायो । उनको यो दोहोरी ‘करोड क्लब’मा पनि पुग्यो । उनी थुप्रै लाइभ दोहोरीमा सहभागी भइसकेकी छन् । उनी हरेक गायक–गायिकासँग लाइभ दोहोरीमा टक्कर दिन सक्षम छिन् । लाइभ दोहोरीमा गीतको भाका र टुक्का आफैं आउने गरेको उनले बताइन् ।

उताबाट के आउँछ सोहीअनुसार आफू तयार भइसक्ने उनको भनाइ छ । सामान्य परिवारकी १३ वर्षीया उनले गायनका कारण केही आम्दानीसँगै आत्मविश्वास पनि बढेको बताइन् । लाइभ दोहोरी, स्टेज कार्यक्रमदेखि उनी विदेशसम्म पनि पुगेकी छन् ।

सानै उमेरमा थुप्रै प्रशंसक बटुलेकी उनले दर्शकहरूको हौसलाले अगाडि बढ्न प्रोत्साहन गरेको बताइन् । उनलाई अब पढाइ र संगीतलाई अगाडि बढाउँदै राम्री गायिकाका रूपमा स्थापित हुनु छ । डेढ वर्षअघि भक्तपुरकी आयशा गौतमलाई आफूलाई गायिका बन्छु भन्ने थिएन । नौ वर्षीया उनका परिवारलाई पनि यो विश्वास थिएन । तर, उनी छोटो समयमै लोकप्रिय बालगायिका बन्न पुगिन् ।

उनको स्वरको प्रशंसा चारैतिर हुन पुग्यो । उनका चर्चित गीतहरू ‘फुली नाकैमा’ ‘तारा बाजी लै छोरी’ ‘चिया सस्तो छ’ लगायतका गीत चर्चित लोकगीत हुन् । उनलाई पनि गायिका बन्ने अवसर ‘इन्द्रेणी’ ले नै टाइदिएको हो । जाडो बिदामा उनकी आमाले उनलाई उक्त कार्यक्रम हेर्न भनेर लगिन् । उक्त कार्यक्रममा नाच्दा–नाच्दै उनले आफूले गीत गाउन सक्ने भएको बताइन् ।

उनले लाइभ दोहोरीमा टुक्का जोड्दै जवाफ फर्काउन थालिन् । लाइभ दोहोरीमा उनी यति तगडा बनिन् कि भोलिपल्ट उनले छत्र शाहीसँग पहिलो लाइभ दोहोरीमा प्रतिस्पर्धा गरिन् । त्यहीँबाट उनको गायनको यात्रा सुरु भएको हो ।

उनले गीत मात्र होइन मोडलिङ पनि गरिसकेकी छन् । न त उनले म्युजिक सिकेकी छन् न त मोडलिङ । प्राक्टिस गर्दागर्दै सिकेको उनले बताइन् । उनले सुनील थापा, नाजिर हुसेनदेखि राजेश हमालसँग सँगै भिनय गरिसकेकी छन् । पढाइसँगै संगीतलाई पनि उनले पार्ट टाइमका रूपमा अगाडि बढाउने बताइन् । भविष्यमा शिक्षिका वा वकिल बन्ने उनको रहर छ ।

कैलालीकी १३ वर्षीया पूजा देवकोटाले वर्षौर्देंखि हराएका बुवा खोज्दै गीत गाइन् । उनले पहिलो पल्ट ‘न साथमा बाबा छन् न जूनेली रात’ बोलको गीत गाइन् । यो गीतले उनले आफ्ना हराएका बुवालाई भेटाइन् । गीत गाउँदै उनी लाइभ दोहोरीमा आइपुगिन् ।

चोली मैलै भो मैले तिम्लाई नभन्या मात्रै हो मन पराको पहिले हौ’ किसन सिजापतिसँगको लाइभ दोहोरीले टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । देशका चर्चित कलाकारहरूले उनको स्वरमा रहेको उक्त गीतमा टिकटक बनाए । यसले पूजालाई थप हौसला बढ्यो ।

सात कक्षामा पढ्ने उनले दोस्रो गीत ‘म नेपालकी छोरी’ रेकर्ड गराइसकेकी छन् । उनले लोकगीत मात्र होइन आधुनिक गीत पनि गाउन रुचाउँछिन् । सांगीतिक क्षेत्रमा उदाएकी उनलाई थुप्रै सहयोग पनि आउने गरेको छ । उनले कैलालीमा नयाँ घर बनाइसकेकी छन् । संगीत र पढाइलाई सँगसँगै अघि बढाउँदै राम्रो कलाकार बन्ने उनको रहर छ ।

दैलेखका गाउँघरमा गीत गाउने किसन काठमाडौंको इन्द्रेणी सेटसम्म पुगे । उनले थुप्रै कलाकारसँग होरीमा प्रतिस्पर्धा गरिसकेका छन् । नौ कक्षामा पढ्ने किसनलाई अहिले गायकका रूपमा सबैले चिन्न थालेका छन् । उनले थुप्रै सामूहिक गीतमा आफ्नो स्वर दिएका छन् । किसनले थुप्रै लोकगीत गाउँदै काठमाडौंमा पढ्ने अवसरसमेत पाएका छन् ।