चैत्र १५, २०८० बिहीबार

आक्रमणमा परी घाइते एमाले नेताको स्वास्थ्य अवस्थाको जानकारी लिन नेता पोखरेल अस्पताल पुगे



काठमाडौं । स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न नेकपा(एमाले) का महासचिव शङ्कर पोखरेल अस्पताल पुगेका छन्।

चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ। सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। नेपाली कांग्रेसका नेता जोशीले एमालेसँग तालमेल गरी कैंची चिह्न लिएर मेयरको उम्मेदवार बनेपछि उनी आक्रमणमा परेका थिए।

तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता गोविन्द राज जोशीबीच लामो समयदेखि राजनीतिक टकराब जारी छ। जोविन्दराजले आफूप्रति भ्रष्टाचारको मुद्दा र पार्टीको कारबाही प्रक्रियामा समेत नेता पौडेलको हात रहेको आरोप लगाउँदै आएका छन्।

नेता पौडेलसँगको राजनीतिक इगो साँध्नका लागि गोविन्दराजले अमेरिकामा रहेको छोरा दीपकराजलाई बोलाएर ब्यासको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बनाएका छन्।

महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङसमेत अस्पताल पुगेका थिए। आक्रमणबाट जोशीको टाउको र जीउमा चोट लागेको थियो। उक्त घटनापछि मतदान केन्द्रमा चुनाव स्थगित भएको थियो भने निर्वाचन आज हुँदैछ।