चैत्र १५, २०८० बिहीबार

देशभरका स्वास्थ्यकर्मीमा धमाधम कोरोना संक्रमण, के चौथों लहरको संकेत हो ?



काठमाडौं । सरकारले कोरोनाको चौथो लहर सुरु भएको औपचारिक घोषणा नगरे पनि ओमिक्रोनको नयाँ सबभेरियन्ट बिए फाइभ पुष्टि भएको सुरुवाती चरणमै स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित भएका छन् ।

काठमाडौँको वीरसहित चार अस्पताल र धुलिखेल अस्पतालमा मात्रै २२ स्वास्थ्यकर्मीमा संक्रमण भएको छ। वीरमा मात्रै १३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ६, सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, सिभिल अस्पताल र धुलिखेल अस्पतालमा एक एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।

सेवामा खटिएका स्वास्थ्यकर्मी सुरुवाती अवस्थामै संक्रमित हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या आउन सक्ने वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले बताए। सरुवारोग अस्पताल टेकुमा पनि स्वास्थ्यकर्मी संक्रमित हुँदा जनशक्ति कम भएर सेवा प्रवाहमा समस्या देखिन सक्ने सूचना अधिकारी नवराज गौतमले बताएका छन्।

शिक्षण अस्पताल महाराजगन्जका डा.सन्तकुमार दासले भने विगतमा चरम सङ्कट पार गरेर आएका स्वास्थ्यकर्मी अहिले केहीमा संक्रमण पुष्टि हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । कोरोना बढेसँगै अन्य रोगका बिरामी अस्पताल आउन छाड्ने भएकाले पनि ठूला अस्पतालमा व्यवस्थापन केही सहज हुने उनको विश्लेषण छ।

आठजनामा संक्रमण पुष्टि भएको १४ जेठदेखि कोरोनाको तेस्रो छाल अन्त्य भएको सरकारको निष्कर्ष थियो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने त्यसयता क्रमशः संक्रमण बढ्न थालेकोमा हालसम्म ६ स्वास्थ्यकर्मी मात्रै संक्रमित भएको दाबी गरेका छन् । विगतमा जस्तै केस बढे पनि कति पुग्छ प्रक्षेपण कार्य जारी रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना सुरु भएयता हालसम्म प्रदेश १ मा एक हजार ६ सय पाँच, मधेसमा ६ सय सात, बागमतीमा ६ हजार नौ सय सय ७१, गण्डकीमा चार सय ९७, लुम्बिनीमा नौ सय १०, कर्णालीमा दुई सय ३२ र सुदूरपश्चिममा दुई सय ८३ गरी जम्मा ११ हजार एक सय ९६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

त्यस्तै, प्रदेश १ मा पाँच, मधेसमा ११, बागमतीमा १४, गण्डकीमा एक, लुम्बिनीमा आठ, कर्णालीमा दुई र सुदूरपश्चिममा दुई गरी हालसम्म ४३ स्वास्थ्यकर्मीको कोरोनाबाट मृत्यु भएको छ। ७४ दिन अर्थात् अढाई महिनापछि पहिलोपटक आइतबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।