चैत्र १६, २०८० शुक्रबार

बर्खाको समयमा कपालमा देखिन्छन् यस्ता समस्या, यसरी सुरक्षित राख्नुहाेस



एजेन्सी । अहिलेको समयमा पानी पर्ने, घाम लाग्ने, तापक्रम बढ्ने, तथा वातावरणमा ह्युमिडिटी बढ्ने कारण कपालमा विभिन्न समस्या देखिने हुन्छ ।

वर्षायामको समयमा धेरैजसोलाई कपालमा चाया पर्ने, चिल्लो हुने, एकदम सुक्खा, फुस्रो हुने, चिलाउने तथा कपाल झर्ने समस्या हुने गर्छ । वर्षाको पानी एसिडिक हुनुको साथै यसमा परागकण, धुलो, फोहोर मिसेर आउने हुँदा वर्षाको पानीले कपाललाई नकारात्मक असर पुग्ने हुन्छ । यसबाहेक कपालमा पसिना पनि धेरै आउने गर्छ ।

कपाललाई सुक्खा राख्नु एकदम महत्त्वपूर्ण हुन्छ । कपाल भिजेको कारण यसले जरा कमजोर बनाएर कपाल झर्ने, फाहोर टाँसिने, चिलाउने तथा टुक्रने समस्या निम्त्याउँछ। भिजेको कपाललाई गुम्स्याएर टाइट बाँधेर र भिजेको कपाललाई कोर्नु पनि हुँदैन । भिजेको कपाललाई नुहाएर वा नुहाउन नपाएको खण्डमा राम्ररी खोलेर, फिजाएर सुक्खा बनाउनु पर्छ ।

कपालबाट निस्किने तेलका कारण पनि डन्डिफोर बढ्न सक्छ । त्यसैले, सकेसम्म चिल्लोरहित वा सुक्खा बनाउनका लागि कपाललाई केही दिनको अन्तरालमा श्याम्पूको प्रयोग गर्नुपर्छ।

कपालमा कन्डिसनरको प्रयोग गर्दा जरामा नभए तल कपालमा मात्र लगाउनुपर्ने हुन्छ । कपालको चाया हटाउनका लागि बजारमा विभिन्न प्रकारका चाया हटाउने श्याम्पूहरू उपलब्ध छन् । यसलाई हप्तामा दुई पटक प्रयोग गर्न सकिन्छ।