बैशाख १५, २०८१ शनिबार

‘मिसेस वर्ल्ड’मा भाग लिन अमेरिका उडिन् पृथ्वीया



काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड-२०२४ नेपालमा सहभागी हुन पृथ्वीया थापा अमेरिका उडेकी छन् ।

आगामी शुक्रबारसम्म अमेरिकाको लस भेगासमा हुने पेजेन्टमा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनलाई मिसेस वर्ल्ड नेपालको आयोजक संस्थाको समूहले काठमाडौं विमानस्थलमा बिदाइ गरेको थियो ।

त्यसतर्फ जानुअघि मिडिया कुराकानीमा पृथ्वीयाले पेजेन्टको फिनालेका लागि भरपुर तयारी गरेको बताइन् । ‘त्यहाँ नेपालको भेषभूषा, संस्कृति र नेपाली नारीको पहिचान झल्काउने छु,’ उनले भनिन्, ‘नेपाली महिलाको आत्मविश्वास र स्वभावलाई प्रतियोगितामा प्रस्तुत गर्नेछु ।’

किरात समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गहना उनले प्रस्तुत गर्ने भएकी छन् । नेपालको हस्तकला सामग्री, काठको डिजाइनभित्र सजाइएको सगरमाथा अंकित तस्वीरलाई त्यहाँ प्रदर्शन गर्ने पनि बताइन् । प्रतियोगितामा ५७ मुलुकका विवाहित सुन्दरीले भाग लिनेछन् ।

मिसेस वर्ल्ड नेपालका राष्ट्रिय निर्देशक अश्विनीकान्त झाले नेपालले उपलब्धि लिएर पृथ्वीया फर्किनेमा आफू ढुक्क रहेको बताए । आयोजक रिबन इन्टरटेनमेन्टका सीईओ निशुकान्त झाले भोटिङको महत्व रहेकाले भोटिङमा सघाउन आग्रह गरे ।