जेष्ठ ४, २०८१ शुक्रबार

यस्ताे कसैलाइ नहाेस, बाबुको मिर्गौला फेल, आमालाई स्तन क्यान्सर सहयोगका लागि भौतारिँदै परिवार



सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारबाट ५ किलोमिटरको दूरीमा छ मानेश्वारा आलेडाँडा । वारिपारि जंगल, झरना र पहाडले घेरिएको चिटिक्क छ आलेडाँडा गाउँ । सोही गाउँको एउटा टहरामा बस्छन् ५८ वर्षीय मीनबहादुर तिमिल्सिना ।

बुढ्यौली शरीर, थरर काँपेको आवाजमा त्यहाँ पुग्ने जो कोहीलाई उनी गुहार्छन्, ‘मेरी श्रीमतीलाई स्तन क्यान्सर भएको छ; महानुभव हजुरले सकेको सहयोग गरिदिनुस् अनुरोध छ ।’ श्रीमतीको क्यान्सरको उपचारका लागि भक्कानिँदै अरुलाई गुहारिरहेका तिमिल्सना फेल भएको एउटा मिर्गौला बोकेर आलेडाँडा गाउँमा बसेको महिनौं भइसकेको छ ।

उनी यताउता हिँड्डुल गर्न सक्दैनन्; डाँडा वरपर हेरिरहन्छन् । फेल भएको मिर्गौला लिएर किन बसेको ? भन्ने अधिकाशंको जिज्ञासामा उनी भन्छन् ,‘मेरा लागि भगवान्‌ले समय दिएको छ, एउटा मिर्गौलाले काम गरिरहेको छ तर मेरी श्रीमती जीवन र मृत्युबीच संघर्ष गर्दैछिन् ।’ आफ्नोभन्दा श्रीमतीको समस्या जटिल देखिएकाले उनी आफूलाई भेट्न आउने सबैसँग आर्थिक सहयोग माग्दामाग्दै भक्कानिन्छन्, बोल्नै सक्दैनन् ।

उनकी श्रीमती ५३ वर्षीया अमृतकुमारीलाई भक्तपुर क्यान्सर अस्पतालमा जसोतसो आवश्यक उपचार गराइरहेको उनको परिवार आवश्यक आर्थिक स्रोतको अभावमा मानसिक रुपमा विक्षिप्त भएको उनले बताए । उपचारको क्रममा आफ्नी श्रीमतीलाई ६ वटा किमो चढाइसकेको र छोराछोरी/आफन्त त्यसकै लागि रकम जुटाउन कस्सिरहेको उनको भनाइ छ ।

‘आहिलेसम्म सर्वस्व बेचेको र अन्य ऋण गरेको लाखौं रकम खर्च भइसक्यो; कति खर्च भयो हिसाब गरेको छैन । यता म उपचार गर्न नसकेर फेल भएको मिर्गौला लिएर घरमै थन्किएर बसेको छु; उता श्रीमतीको हालत त्यो छ । आफ्नो पीडा कसलाई सुनाउने ?’ उनले दुखेसो पोखे ।गत वर्ष मंसिरमा कोखो र कम्मरमा हुने चरम दुखाइले मीनबहादुर एकाएक बेहोस भए । बाह्रबिसे नगरस्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि स्वास्थ्यकर्मीकै सल्लाहमा तिमल्सिनाकै आफन्त/परिवारले काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लगेर भर्ना गराए ।

मीनबहादुरको एउटा मिर्गौला फेल भएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि पाँच महिनासम्म आवश्यक उपचार गरियो । घरजग्गासहित सबै गरगहना बेचेको रकम र अन्य ऋण जुटाएर अमृतको उपचार जसोतसो चल्दैथियो । एक दिन एकाएक उनकी श्रीमती अमृतकुमारी काँप्दै बेहोस भएर ढलिन् । गाउँको झारफुक, स्थानीय स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रबाट निराश फर्किएपछि डाक्टरले सुझाए, ‘काठमाडौंको वीर अस्पताल लैजानुस्; त्यहाँ व्यथा थाहा हुन्छ ।’

अमृतकुमारीलाई वीर अस्पतालमा दोस्रो चरणको स्तन क्यान्सर भएको र स्वास्थ्य गम्भीर अवस्थामा पुगिसकेको जानकारी दिएपछि अमृतकुमारीलाई उपचारर्थ भक्तपुर क्यान्सर अस्पताल लगियो । ‘बाह्रबिसे नगर, वडादेखि चिनजान भएका सबैलाई सहयोग गर्न कागजात बुझाइरहेकै छु । केही आफन्तजनले रकम सहयोग पनि गर्नुभएको छ । बुबा-आमा दुवैलाई बचाउन संघर्ष गर्दैछौं,’ मीनबहादुरको हेरचाह गरिरहेकी छोरी कविताले भनिन् ।

‘बुबाको मिर्गौला फेल र आमाको स्तन क्यान्सर भएको दुईवटा घटना सुनेपछि सबै छाँगाबाट खसेझैं भयौं तर गर्ने के ? आर्थिक स्रोत जुटाउनुबाहेक के विकल्प रह्यो र ?’ उनले प्रश्न गरिन् । बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतका अनुसार बाह्रबिसे नगरक्षेत्रभर मात्रै मिर्गौला फेल र स्तन क्यान्सरको समस्या बोकेर बसेका घटना धेरै छन् ।

यसअघि यथासम्भव र अहिले तिमिल्सनाको पीडित परिवार नगरमा आएको र आफूले सकेको उपचार खर्च उपलब्ध गराउने प्रतिबद्धता दिएको उनले बताए । ‘हामीले सकेको सहयोग गर्नेछौं । यी परिवारका लागि नगरबाट हुने आर्थिक सहयोगका लागि पहलकदमी भइरहेको छ,’ उनले भने ।