बैशाख १२, २०८१ बुधबार

भारतीयलाई सुपारी दिएर दाइभाउजुले गरे भाइ–बुहारीको हत्या



बाँकेमा दाजु र भाउजूले भाइ र बुहारीको हत्या गराएका छन् । कोहलपुर नगरपालिका– १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।

अनुसन्धानको क्रममा प्रहरीले हत्यामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेपछि हत्याको योजना खुलेको हो । प्रहरीले हत्याको अभियोगमा विजयकुमार गडरियालाई पक्राउ गरेको छ । अनुसन्धानबाट दाजु र भाउजूको निर्देशनमा भारतीय सुटरले भाइ–बुहारीको हत्या गरेको खुलेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

पक्राउ परेका विजयले भाइ–बुहारीको हत्या गर्न भारतीय नागरिकलाई सुपारी दिएको बयान प्रहरीसमक्ष दिएको एसपी अधिकारीले बताए । ‘दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा भाइ कृष्ण र उनकी श्रीमती अञ्जलीको हत्या गरेको तथ्य खुलेको छ,’ एसपी अधिकारीले भने ।

आमाबाबुले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको रिसले भारतबाट मानिस ल्याएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको उनले बताए । उनले घटनामा चारजनाको संलग्नता देखिएको बताए । श्रीमतीको हत्या गरेपछि कृष्णले प्रतिवाद गर्दा उनको पनि हत्या गरेको हुनुपर्छ,’ एसपी अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘बुहारीलाई डोरीले घाँटी कस्नुका साथै मुख थुनेर हत्या गरेको देखिएको छ ।

भाइलाई हातको नसा काटेर मुख थुनेरै हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’ कृष्णको परिवार बस्ने गरेको घरकै माथिल्लो तलामा दाजु–भाउजू बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बुबाआमा घरमा नभएको मौका छोपी दाजुले भारतबाट मान्छे बोलाएर मार्न लगाएको बताए ।

‘भारतका दुईजना मानिसलाई एक लाख रुपैयाँ दिएर भाइ–बुहारीको हत्या गर्न लगाएको खुलेको छ,’ मल्लले भने । कृष्ण र अञ्जलीको विवाह एक वर्ष पहिले मात्रै भएको थियो ।