चैत्र १६, २०८० शुक्रबार

महिलाले बैंकबाट झिकेर ल्याउँदै गरेको रकम लटेर भागेका दुई जना पक्राउ



जनकपुरधाम । जनकपुरधाममा महिलाको साथबाट दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल छन् । प्रहरीले पक्राउ परेका दुवै जनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

अनुसन्धानका क्रममा साह र मण्डलले जनकपुरधाम उपमहानगरपालिका १ बस्ने शर्मिला यादवले बैंकबाट झिकेर ल्याउँदै गरेको दुई लाखसहित उनको मोबाइल, नागरिकता र कागजात भएको झोला लुटेर भागेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

साह प्रदेश २-०२-००५प००८५ नम्बरको मोटरसाइकल चलाइरहँदा पछाडि बसेका मण्डलले शर्मिलाको हातबाट झोला लुटेका थिए । पछि दुवै जनाले रकम बाँडफाँट गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा साहको घरबाट शर्मिलाको लुटिएको मोवाइल र नगद ५४ हजार तथा मण्डलको घरबाट लुटिएकोमध्ये ७८ हजार रुपैयाँसमेत बरामद भएको छ ।

यो घट्नाको विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

साउदीमा रहेका श्रीमान् देबशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै शर्मिलाको हातबाट लिएर भागेका थिए ।