चैत्र १६, २०८० शुक्रबार

‘जो अगुवा उही नै बाटो हगुवा‘



यो वर्ष तीज गीतको सिजन सुरु हुनु अगावै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले एउटा प्रेस विज्ञप्ती निकाल्यो। त्यो प्रेस विज्ञप्तीमा तीज गीतका नाममा अश्लिल गीत नगाउन र जथाभावी भिडिओ नबनाउन आग्रह गर्यो। प्रतिष्ठानको आग्रहलाई बेवास्ता गरेर गीत निकाले कारबाही गर्ने चेतावनी समेत दियो।

प्रतिष्ठानले विकृति नियन्त्रण समिति निर्माण गर्यो जसको संयोजक थिए शिव हमाल। केहि मात्रामा तीजका गीत निस्किए पनि अघिल्ला वर्ष जस्तो तीज गीतलाई लिएर विवाद भएको थिएन।  बिहिबार शिव हमालकै शब्द रहेको गीत सार्वजनिक भयो।

हमालले लेखेका छन् 
‘के हुन्छ होला है बिहेको राति, 

अँध्यारो कोठामा अञ्जान साथी,
सम्झेर गइसक्यो सातो बरि लै’

आशिष अविरलको संगीतमा सुशीला पाठकले गाएको यो गीत सार्वजनिक भएसँगै विवादमा पर्यो। गीतको शब्द मात्रै होइन गीतको म्यूजिक भिडिओ पनि विवादमा परेको छ। ‘पापाकी परी’ बोलको उक्त गीतको केहि शब्द र पेटिकोट लगाएको दृश्य अपाच्य भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र विकृति विसंगति न्यूनीकरण संयोजककै यस्तो गीत आएपछि धेरैले प्रश्न समेत गरिरहेका छन्। विज्ञप्ति जारी गर्दै अपाच्य र अभद्र गीत रिलिज गरे कारवाही गर्ने चेतावनी दिएको संस्थाका संयोजले नै यस्तो गीत निकाल्दा कारबाही हुन्छ की हुँदैन भनेर सञ्जालमा प्रश्न उठिरहेको छ।

राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी भन्छन् ‘कारबाही हुन्छ।’ शिव माथिको कारबाही स्वरुप गीतको उक्त दृष्य र शब्द सम्पादन गर्न लगाउँने शिवले बताए। हमालले आत्मालोचना गरेर हटाउँने सहमति जनाइसकेको बिजीले सुनाए।

गीत निकाल्नु, विवादमा तानिनु र सम्पादन गर्नुले संस्कृति माथिको हस्तक्षेप रोकिन्छ त ? भन्ने नेपालखबरको प्रश्नमा बिजीले भने ‘रोकिँदैन। जिम्मेवार मान्छेले पहिलेनै ख्याल गर्नु पर्ने हो। हामीलाई पनि बजारमा आइसकेपछि थाहा हुन्छ। एकद्वार प्रणालीबाट गीत निस्कने भए पहिला नै यस्ता गीत माथि रोक लगाउँन हुन्थ्यो।’

तर सर्जकले गल्ती महसुस गरेर सच्चिन चाहेपछि माफ दिनु पर्ने बिजीको तर्क छ। उनी भन्छन् ‘सिर्जनाका लागि नैतिकता भन्दा ठूलो केहि हुँदैन। तर म बाट गल्ती भयो, म सच्चिन्छु भनेपछि सच्चिन दिनुपर्छ।’

शिव हमालले पनि आफू लज्जित रहेको भन्दै आत्मालोचना गरेका छन्। उनले भने, ‘यस्तो गीत लेखेकोप्रति म लज्जित छु। हामी आत्मलोचना सहित गीत हटाउँछौ।’

गायिका सुशिला पाठक र मोडल करिश्मा ढकालले भने गीत सामान्य रहेको तर्क गरेका छन्। आफै संयोजक रहेर मैले के र कस्तो लेख्दैछु भन्ने समेत थाहा नहुनु लज्जास्पद कुरा हो । यसले ‘जो अगुवा उही नै बाटो हगुवा’ उखानलाई चरितार्थ गरेको छ ।