बैशाख १२, २०८१ बुधबार

झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त पुन



पोखरा । खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिएर बाउन्स भएपछि फरार रहेकी एक अभियुक्तलाई घर नजिकैको झाडीमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि तीन लाख रुपैयाँको चेक दिई चेक बाउन्स भएपछि उजुरी परेको आधारमा प्रहरीले ती अभियुक्तको खोजी गरेको थियो । पीडित पक्षको उजुरीपछि कास्की प्रहरीले बागलुङको ताराखोला गाउँपालिका-१ स्थायी घर भइ पोखरा महानगरपालिका-२ मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कास्कीकै अन्नपूर्ण गाउँपालिका-८ वीरेठाँटीस्थित नियालो घारीमा लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो । पुनलाई उच्च अदालत पोखराबाट बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रकृया अगाडि कास्की प्रहरीले जनाएको छ ।

उनले विभिन्न व्यक्तिहरूलाई बेलायत पठाइदिने भन्दै रकम लिएर ठगी गरेको समाचार आएको थियो । प्रहरीले पीडितहरुलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सम्पर्क राख्न पनि भनेको छ ।