बैशाख १६, २०८१ आईतबार

ट्रकले चार सवारीसाधनलाई ठक्कर, २५ स्कुले विद्यार्थीसहित ३३ घाइते



पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातोमाटे खण्डमा ट्रकले चारवटा सवारीसाधनलाई ठक्कर दिएको छ । दुर्घटनामा विद्यार्थीसहित ३३ भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २५ विद्यार्थी छन् । हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेमा ट्रकले बस, ट्यांकर, कार र लरीलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार ना.५ख ६२५४ नम्बरको ट्रकले सुरुमा रिलायन्स बोर्डिङ स्कुलको विद्यार्थी बोकेको ना.१क ५१२३ नम्बरको बसलाई ठक्कर दिएको थियो । त्यसपछि ट्रकले हेटौँडाबाट पथलैया जाँदै गरेको लु.१ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएर बा.७च ९६०४ नम्बरको कारलाई थिचेको थियो ।

पुनः सोही ट्रकले रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको लरीलाई पनि ठक्कर दिएको डिएसपी कार्कीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।