चैत्र १५, २०८० बिहीबार

निहारिका राजपुतले गरिन् राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास



काठमाडौँ — न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

आत्मदाह प्रयासपछि प्रहरीको नियन्त्रणमा रहेकी निहारिका स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अपस्तालमा ।
                   आत्मदाह प्रयासपछि प्रहरीको नियन्त्रणमा रहेकी निहारिका स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अपस्तालमा ।

उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन नपाएको महाराजगन्ज वृत्तका डिएसपी अंगुर जिसीले बताए । निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको उनले बताए ।

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबीसहित आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित केही महिना अघि काठमाडौैंको माइतीघर तथा वसन्तपुरमा समेत अनशन बसेकी थिइन् ।

त्यसक्रममा सरकारले उनीसँग ५ बुँदे सहमति गर्दै असार ३ गते अनशन तोडाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणकै उपस्थितिमा उनले अनशन तोडेकी थिइन् । त्यस सम्झौतामा निहारिकाले बलात्कार गरेको आरोप लगाएको शिवराम श्रेष्ठ र छोरा डीएनए परीक्षणको कानुनी प्रक्रिया अगाडि बढाउने तथा उनीहरुको सुरक्षा र आश्रयको व्यवस्था सरकारले गर्ने, आर्थिक साहयता उपलब्ध गराउने, राज्यका सम्पूर्ण निकायलाई पीडितमैत्री बनाउने उल्लेख थियो ।

तर सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुन: धर्ना दिन थालेकी हुन् । साउन २० गते उनले सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएपछि पक्राउ गरिएको थियो । शुक्रबार भने उनले वसन्तपुरबाट ट्याक्सीमा शीतल निवास अगाडि ओर्लिएर आफैंले बोतलमा ल्याएको पेट्रोल शरीरमा खन्याउँदा खन्याउँदै प्रहरीले नियन्त्रणमा लिएको हो ।