चैत्र १६, २०८० शुक्रबार

गृहमन्त्रीले बलात्कारी कारबाही गर्ने प्रतिवद्धता पूरा नगरेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाह प्रयास



आफूलाई बलात्कार गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै आएकी निहारिका राजपुत नामले परिचित सोनालीकुमारी सिंहले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबीसहित आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित २०७९ जेठ २७ देखि धर्ना र अनसन बसेकी थिइन् । उनका एक छोरा छन् ।

काठमाडौंको माइतीघर र वसन्तपुरमा अनसन बसेकी उनीसँग असार ३ मा उनका माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री वालकृष्ण खाँणले नै अनसन तोडाएका थिए । अनसन तोड्ने सहमति गर्दा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल र उपसचिव वसन्त भट्टराई, अनशनरत निहारिका राजपुत भनिने (सोनालीकुमारी सिंह), सिंहको तर्फबाट बाराकी सावित्रा सुवेदी र रामेछापकी सुनिता गौतम तथा पत्रकार लोक्सरी कुँवरले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

सहमतिपत्रमा आरोपित व्यक्ति र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनका छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडित मैत्री बनाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने र अन्तिममा गृहमन्त्री खाँणबाट जुस पिएर अनशन तोड्ने गरी ५ बुँदे सहमति भएको थियो । तर सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुन धर्ना दिन थालेकी हुन् । साउन २० गते उनले सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएपछि पक्राउ गरिएको थियो ।

पछिल्लो पटक साउन २० मा सिंहदरबार दक्षिण ढोकाअघि आमरण अनशनमा बस्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसको अर्को साता शुक्रबार वसन्तपुरबाट ट्याक्सी चढेर छोरासहित महाराजगञ्ज पुगेकी निहारिका ट्याक्सीबाट ओर्लिएलगत्तै हातमा बोकेको बोतलबाट शरीरमा पेट्रोल छर्केकी थिइन् । त्यसपछि तत्कालै शीतल निवास अगाडि रहेका प्रहरीले उनलाई अप्रिय घटना हुन नपाउँदै नियन्त्रणमा लिएर महाराजगञ्ज वृत्त पुर्‍याएको थियो ।

त्यसपछि स्वास्थ्य जाँच गर्न अस्पताल लगिएकी निहारिकाले आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएकोले आत्मदाहको बाटो रोजेको बताएकी छन् । ‘मैले न्याय पाइनँ, सरकारले गरेको ५ बुँदे सम्झौतामा उल्लेख भएअनुसार मेरो छोरा र आरोपितको डीएनए परीक्षण पनि भएन, आरोपित व्यक्तिलाई पनि पक्राउ गरिएन त्यसैले मर्नलाई शरीरमा पेट्रोल छर्केको हो ।’ उनले आत्मदाह प्रयास गरेलगत्तै प्रहरीले गृह मन्त्रालयमा पनि त्यसबारे जानकारी गराएको छ ।