चैत्र १६, २०८० शुक्रबार

गुल्मीका उद्यमी महिलाले मौलिक रुपमा मनाए तीज



 

गुल्मी-पछिल्लो समय तीजको मौलिकता हराउँदै गएको छ । भड्किलो पहिरन, खर्चिलो तडकभडकले गर्दा मौलिक रुपमा तीज मनाएको देख्न आजकल मुस्किल नै पर्छ ।


तर गुल्मीका उद्यमी महिलाले भने यो पटक तीजमा मौलिकताको झल्को दिएका छन् । मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजना गरेको तीज विषेश कार्यक्रममा सहभागी महिलाहरुले मौलिक भाकामा गीत गाएर तीज मनाएका हुन् ।


पछिल्लो समयमा स्पीकर घन्काएर तीज गीतमा छमछमी नाचिरहेका महिलाहरुको भिडमा आफ्नै गाउँघरमा गाउने परम्परागत तीज गीत गाएर नाच्ने महिलाहरुको सख्या विरलै देख्न पाइन्छ ।


तर यो यसलाई तोडदै उद्यमी संघ गुल्मीले पुरानै परम्परालाई निरन्तरता दिएको हो । पछिल्ला बर्षहरुमा तीज भड्किलो र औपचारिकतामा मात्रै सिमित भइरहेका कारण पनि आफूहरुले त्यसलाई निरुत्साहित गर्नका लागि मौलिक रुपमा तीज मनाएको महिला उद्यमी संघ गुल्मीकी अध्यक्ष निर्मला केसीले बताउनुभयो ।


उहाँले तीजको मर्म भनेको वर्षौ सम्म भेट हुन नसकेका दिदीबहिनीहरु भेला भएर सुख–दुःख आदान–प्रदान गर्ने र एकआपसमा खुसी साटासाट गरेर मनाउने पर्व भएकाले यसका विसङ्गती हटाउनुपर्ने सुझाव दिनुभयो । २०७७ सालमा गुल्मीमा गठन भएको उद्यमी संघमा जिज्ल्लाका ३५ जना उद्यमी महिला आवद्ध छन् । केसीले तीज पछि जिल्लाका सबै स्थानीयका उद्यमी महिलाहरुलाई एकतावद्ध गर्ने जानकारी दिनुभयो ।