बैशाख १, २०८१ शनिबार

यसवर्षको पद्मश्री साधना सम्मान मायालाई, ज्ञवालीको ‘अर्को भोर’लाई पद्मश्री पुरस्कार



पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको अर्को भोरलाई र पद्मश्री साधना सम्मान साहित्यकार माया ठकुरीलाई प्रदान गरिने भएको छ।

खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले २०७८ सालको पद्मश्री साहित्य पुरस्कार ज्ञवालीको अर्को भोरलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन्। यो पुरस्कार वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रदान गरिन्छ।

त्यस्तै, २०७८ सालको पद्मश्री साधना सम्मान ठकुरीलाई दिने निर्णय गरिएको हो। यो सम्मान साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिन्छ।

साहित्यकार ठकुरी तीन दशकदेखि लेखन क्षेत्रमा क्रियाशील छन्। उनका सात वटा कथासंग्रह, एउटा गीतिसंग्रह र एउटा बालकथासंग्रह प्रकाशित छन्।

प्रतिष्ठानले यसै वर्षदेखि शुरू गरेको पद्मश्री गौरव पुरस्कार डा. सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ। लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गरेका डा. रुइतलाई पुरस्कार दिने निर्णय भएको अध्यक्ष लामिछानेले जनाएका छन्।

तीन वटै पुरस्कारको राश तीन लाख रुपैयाँ रहेको छ। तीनै पुरस्कार र सम्मान कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिनेछ।