जेष्ठ ५, २०८१ शनिबार

बलात्कारबाट जन्मिएका छोराले आमाको न्यायका निम्ति गरेको प्रयत्न



अनन्त झणाणे । भारतमा एक महिलालाई दुई जनाले पटक-पटक बलात्कार गरेको तीन दशकपछाडि बल्ल न्याय मिल्ने आशा बढेको छ – त्यो पनि बलात्कारबाट जन्मिएका उनका छोराको मद्दतले। उत्तर प्रदेश राज्यकी ती महिलालाई १२ वर्षको हुँदा ६ महिनासम्म दुईजना पुरुषले लगातार बलात्कार गरेका थिए।

त्यसपछि जन्मिएको उनको छोरालाई अरूलाई नै पाल्न दिइयो। तर १३ वर्षपछि छोरा उनलाई नै फर्काइयो। यो घटनाले उनलाई ती आरोपित बलात्कारीविरुद्ध मुद्दा हाल्न प्रोत्साहन मिल्यो। पछिल्ला केही दिनको अन्तरालमा प्रहरीले दुईजना आरोपितलाई पक्राउ गरेको छ।”यो घटना निकै पुरानो भए तापनि यसले बनाएको घाउ निको भएको थिएन,” ती महिलाले बीबीसीलाई भनिन्।

“त्यो घटनाले मेरो जीवन ठप्प बनायो। म त्यो घटना बारम्बार सम्झने गर्छु।” भारतमा हरेक वर्ष बाल यौन दुर्व्यवहारका हजारौँ मामिला रेकर्ड हुन्छन्। सन् २०२० को आँकडाअनुसार ४७ हजार त्यस्ता मामिला यौन अपराधबाट बालबालिकालाई संरक्षण गर्ने ऐन (पोक्सो) अन्तर्गत दर्ता भएका थिए।

अभियानकर्मीहरूका अनुसार वास्तविक सङ्ख्या त अझै धेरै हुनसक्छ।किनभने बालबालिकाले तिनीहरूमाथि भएका दुर्व्यवहार बुझ्न सक्दैनन् अनि बोल्न पनि डराउँछन्।

‘तिनले मेरो मनमा त्रास उत्पन्न गराए’

भारतीय कानुनअनुसार नाम उल्लेख गर्न नमिल्ने ती बलात्कृत महिलाले सो घटना शाहजहाँपुर शहरमा सन् १९९४ मा भएको बताइन्। आरोपित दाजुभाइ मोहम्मद राजी तथा नकी हसन छिमेकमा बस्थे। जबजब उनी घरमा एक्लै हुन्थिन् तबतब तिनीहरू पर्खालबाट हाम फालेर आउँथे र जबरजस्ती गर्थे।

बिस्तारै उनको स्वास्थ्य कमजोर हुँदै गएपछि मात्र उनी गर्भवती भएको थाहा भयो। उनलाई डाक्टरकहाँ लगियो। तर उनको कमजोर स्वास्थ्य अवस्था तथा सानो उमेरका कारण गर्भपतन गर्न नमिल्ने डाक्टरले सुझाव दिए। उनले जन्म दिनेबित्तिकै उनको शिशुलाई अरूलाई नै पालनपोषण गर्न दिएर पठाइयो।

“जुन शिशुलाई जन्म दिन मैले त्यत्रो सास्ती बेहोरेँ उसको अनुहार पनि मैले हेर्न पाइनँ। मैले आमालाई सोध्दा उनले अब तिमीले जीवनमा दोस्रो मौका पायौ भन्नुभयो।” ती महिला र उनको परिवारले त्यतिखेर प्रहरीमा उजुरी पनि गरेन किनभने आरोपितहरूले धम्क्याएका थिए।”घटनाबारे कसैलाई भनेमा तिनले मेरो परिवारलाई मारिदिने र घर जलाइदिने धम्की दिएका थिए,” उनले भनिन्।

“मेरो सपना भनेको ठूलो भएर प्रहरीमा जागिर खाने थियो। तर ती दुई पुरुषका कारण मेरो सपना साकार हुन सकेन। मैले पढ्न सकिनँ।” ती महिला र उनको परिवार पछि रामपुर जिल्लामा बसाइँ सर्‍यो। सन् २००० मा उनले बिहे गरिन् र उनको दोस्रो छोरा भयो। जीवनमा अब नयाँ अध्याय सुरु गर्ने र विगत बिर्सने उनको आस थियो।

तर बिहे भएको ६ वर्षपछि उनको पतिले उनलाई विगतमा बलात्कार गरिएको थाहा पाए र त्यसको दोष उनलाई नै दिए।  उनी र उनको बच्चालाई घरबाट निकालियो। उनी आफ्नी दिदीको परिवारको शरण परिन्।

छोराको साथ

उनको पहिलो छोराले पनि उनको परिचयका कारण थुप्रै विभेद सहनु पर्‍यो। हुर्कँदै जाँदा छिमेकीहरूले आमाबुवाले तिनलाई केवल पालेको भन्ने सुनाए।

भारत
                                                       तस्बिर स्रोत,RAMESH VERMA/BBC HINDI

आमा-छोरा छुट्टिएको १३ वर्षपछि तिनलाई पाल्ने आमाबुवाले पुरानै आमाकहाँ फर्काइदिए। त्यहाँ पुगेपछि तिनलाई आफ्नो बुवाबारे पनि जान्न मन भयो। किनभने उनको थर थिएन – भारतमा बुवाको थर बच्चालाई दिइन्छ – उनलाई स्कूलमा केटाकेटीहरूले जिस्काउने गर्थे।उनले निरन्तर आमालाई बुवाको परिचय सोधिरहन्थे।

जबाफ नआउँदा दिक्क मान्थे। नाम बिनाको जीवन जिउन नसक्ने भन्दै बुवाको नाम नभने आत्महत्या गर्नेसम्म उनले धम्की दिए। अन्ततः आमाले सत्य बताइन्। त्यसपछि त उनको छोरा उनको सबभन्दा ठूलो समर्थक बने। सङ्घर्ष गर्नुपर्ने र आरोपितहरूलाई पाठ पढाउनुर्ने उनले बताए।

“यदि तपाईँले सत्य बोल्नु भयो भने अरू मानिसहरूले पनि त्यसो गर्ने छन्। त्यसले हाम्रो मुद्दा बलियो हुन्छ र दोषीले सजाय पाउनेछन्। अपराध गरेपछि कोही पनि उम्कन नसकिने सन्देश समाजमा प्रवाह हुनेछ।”

न्यायको निम्ति लडाइँ

आफ्नो छोराको प्रोत्साहनपछि ती महिला सन् २०२० मा शाहजहाँपुर फर्किइन्। तर मुद्दा दायर गर्न उनले निकै कठिनाइ बेहोरिन्।निकै पुरानो मामिला भएको भन्दै प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन। त्यसपछि उनी वकिलकहाँ पुगिन्। वकिल पनि अघि सरेनन्। उनी हुर्किएको थलोमा निकै परिवर्तन भइसकेको थियो।

पुरानो घर ठम्याउन समेत मुस्किल भयो भने आरोपितहरू पनि फेला परेनन्। “तीन दशकपहिले तपाईँ कहाँ बस्नुहुन्थ्यो र त्यहाँ नै बलात्कार भएको थियो भनेर कसरी प्रमाणित गर्ने?” वकिलको प्रश्न थियो। “मैले वकिललाई भनेँ, तिमी मुद्दा लड प्रमाण हामी जुटाउँछौँ,” उनले भनिन्।

वकिलले अदालतमा मुद्दा दर्ता गरे। शाहजहाँपुरका मुख्य जुडिसियल मजिस्ट्रेटको आदेशमा दुईजना आरोपितका विरुद्ध सन् २०२१ को मार्चमा एउटा मुद्दा दर्ता भयो। प्रहरीले ती महिलालाई नै आरोपित खोज्न भने।

“मैले तिनलाई फेला पारेँ र फोनमा कुरा गरेँ,” महिलाले भनिन्। “तिनले मेरो आवाज चिने र किन अहिलेसम्म नमरेको भने। मैले भनेँ – अब मर्ने पालो त तिनीहरूको हो।”

प्रमाण र पक्राउ

आरोपितहरू फेला परे पनि तिनलाई अपराधसँग जोड्ने प्रमाण थिएन। तर फेब्रुअरीमा लिइएको डीएनएको परीक्षणको नतिजा अहिले प्रमाणको रूपमा आएको प्रहरीले बताएको छ।

भारत
                               जुलाई ३१ मा एकजना र अघिल्लो बुधवार अर्का आरोपित पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

शाहजहाँपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एस आनन्दले बीबीसीलाई भने, “यो निकै अनपेक्षित मुद्दा थियो। जब ती महिला आएर मुद्दा हालिन् हामी एकदम छक्क पर्‍यौँ। तर हामीले चुनौती स्विकार्‍यौँ र उनको छोराको डीएनएको नमुना लियौँ।”

गत एक वर्षदेखि सो मामिला अनुसन्धान गर्दै आएका इन्स्पेक्टर धर्मेन्द्रकुमार गुप्ताले भने, “त्यसपछि हामीले आरोपितहरूको डीएनए पनि जाँच्यौँ। तीमध्ये एकजनाको डीएनए ती छोराको डीएनएसँग मिल्यो।”

जुलाई ३१ मा एकजना आरोपित पक्राउ परे अनि अघिल्लो बुधवार अर्का आरोपित पनि पक्राउ परे। आरोपितहरूले कुनै टिप्पणी गरेका छैनन्। आफ्नो कथाले अरूलाई पनि अघि सर्न प्रोत्साहन मिल्ने ती महिलाले आशा व्यक्त गरेकी छन्।

“मानिसहरू चुपचाप बस्छन्। म पनि चुप बसेँ र यही नै मेरो नियति हो भन्ने ठानेँ। तर त्यस्तो होइन रहेछ। हामी प्रहरीकहाँ जानुपर्छ ताकि अरूले यस्तो भोग्न नपरोस्।”उनका छोरा पनि आरोपितहरू समातिएकोमा निकै खुसी भएको बताउँछन्।