बैशाख २५, २०८१ मंगलबार

स्कुलबाट फर्कँदै गरेका ३ बालिका बाटोबाटै बेपत्ता



महोत्तरीमा विद्यालय सकेर घर फर्किँदै गरेका तीन बालिका बाटोबाटै बेपत्ता भएका छन् । पिपरा गाउँपालिका २ र ७ का तीन जना बालिका बुधबार बिहान ११ बजेदेखि सम्पर्कविहीन हुन् ।

पिपरा गाउँपालिका वडा नं.२ बनौलीका मोहित चौधरीकी ८ वर्षीया छोरी आराधना चौधरी र पिपरा ७ बनौलीका दीपेन्द्र झाका छोरीहरू ७ वर्षीया प्रज्ञा कुमारी र १० वर्षीया प्रियांशी कुमारी बेपत्ता भएको पिपरा प्रहरी चौकीका इन्चार्ज सन्तोष झाले बताए ।

झाका अनुसार तीनै जना बालिकालाई साढे ११ बजेतिर जनकपुर–जलेश्वर सडक खण्डमा पर्ने चांदनी चौकमा देखेको स्थानीयबासीले बताएका छन् । स्कुलभन्दा १ किलोमिटर दक्षिणमा पर्ने घर जानु पर्नेमा ती बालिकाहरु चांदनी चौकमा किन पुगे भन्ने अनुसन्धानको विषय बनेको उनको भनाई छ ।

गाउँमै रहेको देवसिद्धी इङलिस बोर्डिङ स्कुलबाट फर्किएका उनीहरु घरमा नपुगेको र खोजी गर्दा समेत नभेटेपछि पिपरा प्रहरी चौकीमा निवेदन दिएको प्रियांशीका पिता दीपेन्द्र झाले बताए ।