जेष्ठ १, २०८१ मंगलबार

सन्दिप र पीडितको मात्रै एक महिनाको चिनजान, पहिलो भेटमै बलात्कार !



काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि बलात्कारको आरोप लगाउने किशोरी र सन्दिपको घटनाको दिन पहिलो पटक प्रत्यक्ष भेट भएको खुलेको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको दिन उनीहरुको पहिलो पटक भेट भएको देखिएको छ ।

प्रारम्भिक अनुसन्धानमा खुलासा भएअनुसार ती किशोरी र सन्दिपबीच एक महिनाअघि मात्र चिनजान भएको थियो । उजुरी दिने किशोरी सन्दिपकी एक केटी साथीकी साथी हुन् । उनै केटी साथीले सन्दिप र पीडित किशोरीको चिनजान गराएकी थिइन् ।

एक महिनाअघि चिनजान भएपछि उनीहरुबीच अनलाइनमा कुराकानी हुँदै आएको थियो । गएको भदौ ५ गते सन्दिपले उनलाई भेट्न बोलाएका थिए । ६ गते टि–२० र एकदिवसीय सिरिजको लागि केन्या जानुअघि एक दिन क्लोज क्याम्पबाट विदा पाएका सन्दिपले उनलाई त्यही दिन भेट्न बोलाएका थिए ।

प्रहरीका अनुसार अनुसन्धान जारी छ र सन्दिपविरुद्ध आजै पक्राउ पुर्जी जारी हुन सक्छ । पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढ्नेछ । सन्दिप अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इण्डिजमा छन् । विदेशमा भएको अवस्थामा उनलाई पक्राउ गर्न इन्टरपोलको समेत सहयोग लिन सकिन्छ ।

प्रारम्भिक जानकारी अनुसार नुवाकोट घर भएकी किशोरी बागबजारको एक कलेजमा अध्ययनरत छिन् र उनी होस्टेलमा बस्दै आएकी छिन् । ५ बजेको दिन घुमेर फर्किंदा राती भइसकेको र होस्टेल बन्द भइसकेकोले सन्दिपले उनलाई होटलमा लिएर गएको बताइएको छ ।