>

आश्विन १२, २०७९ बुधबार

म्यासेज आयो, ‘बिहे नै नगरी यसै बस्ने होस् र?’



मेरो लागि बिहेको प्रस्ताव आएको रहेछ। मैले को हो, के हो मतलब नै नराखी अहिले मन छैन भनिदिएँ। ‘केटो, परिवार राम्रो छ, त्यसैले सोधेको। पछि पछुतो होला विचार गर।’धम्की दिएजस्तै उताबाट भनियो। मैले केटो र परिवारको कुरा नभएर अहिले बिहे गर्ने सोच नभएको कुरा बताएँ।

मेरा बारेमा खै के के सोचियो थाहा भएन। एकछिनपछि म्यासेज आयो,  ‘बिहे नै नगरी यसै बस्ने होस् र?’ म्यासेज पढेपछि नराम्रो लाग्यो, हुन त मेरा लागि यो कुनै नौलो घटना थिएन। प्रत्येक लगनको महिनामा यस्ता कुरा भइरहन्छन्। बिहे नगर्ने होस् र भन्नेलाई के थाहा विवाह गर्ने, आमा बन्ने, परिवार बसाउने, मेरो पनि सपना र रहर छ।

विवाह बन्धन निकै सुन्दर हुन्छ। अग्निलाई साँची राखेर आफन्तका माझमा कुनै अन्जान व्यक्ति सँगसँगै जिउने मर्ने बाचा कसम खाइन्छ। त्यही वचन र विश्वासका आधारमा उही व्यक्तिको साथ लागेर आफू जन्मेको घर र परिवार छोडिन्छ। आगामी जीवन कस्तो हुन्छ भन्ने कुरा त्यो व्यक्तिमा भर पर्छ जोसँग बिहे भएको हुन्छ।

सुन्दर विचार र व्यवहार भएको माया र साथ दिने व्यक्ति पर्यो भने जीवन स्वर्ग बन्छ। त्यसको विपरीत दोष, खोटमात्र देखाउने बाहिरतिर अल्लारिने मान्छे पर्य‍ो भने जीवन नर्क बन्छ। टिकटक भरि #Couple Goal मा आएका भिडिओ हेर्दा निकै रमाइलो लाग्छ, काश.. मेरो जीवन साथीसँग मेरो सम्बन्ध पनि यस्तै भइदिए हुन्थ्यो भन्ने रहर पलाउँछ। एक पल त बिहे गरिहालौं, एकल बसेर धेरै कुरा गुमाएकी रहेछु जस्त‍ो लाग्छ।

एकदिन हुनेछ मेरो पनि भन्दै मनलाई ऊर्जा दिएर  युट्युबतिर छिर्छु त्यहाँ  फेरि ट्रेन्डिङमा नै पुग्न सफल श्रीमान-श्रीमतीका काण्ड देख्छु। उत्तिखेरै मन बदलिन्छ। घरमा श्रीमती, छोराछोरी हुँदाहुँदै बाहिर तन्नेरी पल्टेर अर्को बिहे गर्न आँटेको, श्रीमानले बाहिरबाट पठाएको पैसामा यहाँ श्रीमती अर्कैसँग हिँडेर छोराछोरीको बिचल्ली पारेको देख्दा, विश्वास कसको गर्ने भन्ने प्रश्नले सताउँछ।

बिहे गरी हाल्ने भावना मनबाट हत्तपत्त झिक्छु।मलाई बिहे गर्ने मन नभएको त कहाँ हो र! तर बिहे गरिहाल्न मलाई अहिलेको प्रवृत्तिदेखि डर लाग्छ। मलाई यस्तो सम्बन्ध जोड्न मन छ जो मनको होस्, जहाँ धेरै माया र विश्वास होस्। म मेरो बनेको व्यक्तिलाई सुखदुःख सबै पलमा साथ दिन सकूँ।

म उसको सारथी र साहस बन्न सकूँ न कि बोझ। दुई वटा भाडासँगै भएपछि कहिलेकाहीँ आवाज आउने खटपट हुने त स्वाभाविक हो तर भाडा फुट्ने, टुट्ने गरी आवाज कहिल्यै नआओस्। झगडा परिहाले पनि हामीबीच मिल्नुबाहेक अर्को विकल्प नहोस्। म मेरो हुनेवाला जीवन साथीसँग आर्थिक रूपमा निर्भर हुन चाहन्नँ।

कम्तीमा आफ्नो खर्च धान्ने आत्मनिर्भर हुनुछ। विवाह नयाँ व्यक्ति र परिवारलाई आफ्नो जीवनमा प्रवेश गराउने,  नयाँ सम्बन्ध बनाउने उत्सव हो। मलाई राम्रोसँग थाहा छ, म पूर्ण रूपमा अर्को व्यक्तिमा निर्भर भएर कमजोर आत्मबलका साथ नयाँ सम्बन्ध निर्वाह गर्न सक्दिनँ। उमेर बढेसँगै शारीरिक र मानसिक रूपमा साथ दिने व्यक्ति चाहिन्छ, मलाई पनि चाहिएको छ तर म दीगो चाहन्छु।

म खुसी नभएसम्म म अरूलाई खुसी दिन सक्दिनँ भन्ने कुरा मलाई उमेरले, भोगाइले सिकाएको छ। खुसी लाग्छ आफूलाई नै कि म बुझ्ने भएकी छु। म मेरो परिवार र म हुर्केको समाजलाई यत्ति भन्न चाहन्छु। उमेर बढ्ने कुरा हो बढ्छ, छोरीको पनि बढ्य‍ो त्यसमा केही अचम्म नमान्नू।

छोरीको उमेर बिहे गर्नका लागि मात्र बढेको होइन, बढेको उमेर देखेर पीर नगर्नू, उमेर बढेसँगै तपाईंकी छोरी बुझ्ने भएकी छे, आफ्नो लागि सही गलत छुट्याउने भएकी छे त्यसमा खुसी मनाउनू। ‘अब त बिहे गर्ने उमेर भयो।’ मलाई यो भनाइ नै गलत लाग्छ। पहिले १०/१२ वर्षमा बिहे गर्ने उमेर भयो भनिन्थ्यो अहिले २०/२२ वर्षमा ।

खै के सोचेर भनिन्छ। मेरो विचारमा बिहे गर्ने उमेर भयोलाई अब बुझ्ने उमेर भयोमा बदल्नु पर्छ। प्रिय अभिभावक, आफ्ना सन्तानको कुरा सुन्ने गर्नुस्। जमाना पहिले जस्तो छैन, न मान्छे नै पहिलेका जस्ता छन्। तपाईंको पहिलेको सोचाइ अहिले पूरै मेल खान असम्भवजस्तै छ।बाटो देखाउनु राम्रो हो तर यही बाटोमा हिँड्नु पर्छ, हामी यही बाटो हिँडेको, बाटो पनि यही हो भन्नु गलत हो। – सेताेपाटीबाट