बैशाख १२, २०८१ बुधबार

हुम्लामा २ महिनामा २ सुत्केरीको मृत्यु, हवाई एम्बुलेन्स कहाँ छ ?



गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका- ७ की २४ वर्षकी पवित्रा शाही छत्यालको मृत्यु भयो ।

गाउँकै नजिकै स्वास्थ्य संस्थामा औषधी उपचार हुन नसकेपछि उनको गाउँमै मृत्यु भएको हो । सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिप्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनको सुविधा सम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो ।

यही कात्तिक १५ गते (मंगलबार) हुम्लाको अदानचुली गाउँपालिका-५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको पनि सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।

स्वास्थ्य संस्था पुर्‍याएको ६ घण्टापछि शाहीको मृत्यु भएको उनका आफन्त बलबहादुर शाहीले गुनासो गरे । गाउँबाट स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा उनको मृत्यु भएको बलबहादुरको भनाइ छ ।