चैत्र १६, २०८० शुक्रबार

श्रीमतीको हत्या गरेर झुण्ड्याएको प्रहरीको निष्कर्ष



काठमाडौं – ललितपुरको भैँसेपाटीस्थित नख्खुडोलमा तीन दिनअघि आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी एक महिलाको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

२८ वर्षीया वसन्ती कुमालको हत्या आरोपमा उनका २९ वर्षीय श्रीमान् राम कुमाल पक्राउ परेका छन् । प्रहरीका अनुसार आपसी विवादपछि कुमालले श्रीमतीको घाँटी थिच्नुका साथै टाउकोमा ताल्चाले हिर्काएका थिए ।

हत्यापश्चात आत्महत्याजस्तो देखाउन रामले श्रीमतीलाई झुन्ड्याएको ललितपुर प्रहरी प्रवक्ता सुधीरराज शाहीले बताए । कुमालदम्पती दुवैजना काठ कारखानाका मजदुर हुन् । उनीहरूका ७ वर्षका छोरा छन् ।

त्यस दिन मादक पदार्थ सेवन गरेका रामले श्रीमतीमाथि पहिल्यैदेखि शंका गर्दै आएको र त्यही विषयमा विवाद हुने गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।