चैत्र १६, २०८० शुक्रबार

वडाध्यक्षले च्यातिदिए एकल महिलाको सिफारिसपत्र



महोत्तरी – गौशाला नगरपालिका वडा नं. १२ अध्यक्ष कुशेश्वर सिंहले एकल महिलाले वडाबाट लिएको सिफारिस पत्र च्यातिदिएका छन् । सामाजिक सुरक्षा भत्ताको कार्ड बनाउन गएकी एकल महिलाको सिफारिस पत्र अध्यक्षले च्यातिदिएका पीडित महिलाले आरोप लगाएकी छिन् ।

एकल महिला भत्ताको कार्ड बनाउन सिफारिस गरिदिनु भन्दा वडाध्यक्षले श्रीमान्‌को मृत्यु भएको सिफारिस नै च्यातिदिएका पडरिया निवासी पीडित बिन्दा देवी राउतले बताइन् । राउतका श्रीमान् कैलाशको दुई वर्ष पहिले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

श्रीमान्‌को मृत्युपश्चात् एकल महिला (विधुवा)को सामाजिक सुरक्षा भत्ता राज्यबाट पाउने व्यवस्था भएअनुसार बिन्दाले पनि बुझ्दै आएकी थिइन् । वडाबाट सुरक्षा भत्ताको कार्ड नबनेका कारण चालु आर्थिक वर्षमा उनले भत्ता पाउन सकेकी छैनन् । पटक-पटक भत्ता लिन जाँदा बैंकले नदिए पछि किन रोकिएको भनेर सोध्न जाँदा अध्यक्ष सिंहले ‘तिमी मेरो पार्टीको भोटर हैन’ भन्दै सिफारिस पत्र च्यात्तिदिएको राउतले बताइन् ।

वडाध्यक्ष सिंहले भने आफूले सिफारिस च्यातेको नभई आफूलाई आरोप लगाइएको दाबी गरे ।

जनप्रतिनिधिले नै एकल महिलासँग गरेको अभद्र व्यवहारप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले बताइन् । वडाध्यक्ष सिंहलाई आफूले गरेको गल्ती सच्याउन पीडित महिलालाई बोलाएर ३ दिनभित्र सिफारिस बनाइ कार्ड बनाई सामाजिक सुरक्षा भत्ता पाउने बाताबरण बनाइदिन अनुरोध गरिएको थापाले बताइन् ।