बैशाख ७, २०८१ शुक्रबार

लुम्बिनीमा दुईजना मात्र महिला निर्वाचित : जसको एजेण्डा, उसको जीत



मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा एक–एक जना महिला निर्वाचिच भएका छन् ।

प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ ४ जना गरी ११ जना महिला उम्मेदवार रहेको लुम्बिनीमा जम्मा २ जनाले जीत निकालेका हुन् । बाँकी ९ जना महिला पराजित भएका छन् । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ क्षेत्र रहेका छन् ।

लुम्बिनीबाट निर्वाचन जित्ने महिला दुवै नेकपा माओवादी केन्द्रका हुन् । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा माओवादी केन्द्रकी रेखा शर्माले जित्दा बाँके १ (१) बाट प्रदेशसभामा कृष्णा केसी विजयी भइन् ।

शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेलाई पराजित गरेकी थिइन् । पोखरेललाई १९६ मतान्तरले हराएकी शर्मा लुम्बिनीबाट प्रतिनिधिसभामा पुग्ने एकमात्रै महिला बनेकी छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले २०६४ सालको संविधानसभा निर्वाचन पनि दाङबाट जितेकी थिइन् ।

२०७२ सालमा सामान्य प्रशासन मन्त्री भएकी शर्मा मन्त्री हुँदा र राजनीतिक रूपमा कुनै पनि विवादमा नमुछिएकी नेत्री हुन् ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्न एमालेका दुई, कांग्रेस, माओवादी, जनमोर्चा र एकीकृत समाजवादीका एक(एक जना महिलाले उम्मेदवारी दिएका थिए । माओवादीकी शर्माबाहेक अरू भने पराजीत भए ।

प्रदेशसभातर्फ बाँके १ (१) बाट माओवादी केन्द्रकै कृष्णा केसी निर्वाचित भइन् । नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई हराउँदै केसीले मात्रै प्रदेश सभामा जीत निकालेकी थिइन् ।

प्रदेश सभा सदस्यका लागि माओवादीका २ र एमालेका २ जना महिलाले उम्मेदवारी दिएपछि बाँकी ३ जना भने पराजीत भए ।

माओवादीले सशस्त्र युद्धकालदेखि नै महिलाको लागि समानुपातिक समावेशी प्रतिनिधित्वको माग उठाउँदै आएको थियो । माओवादीको सशस्त्र संघर्षको माग अनुसार संविधान सभाबाट बनेको संविधानले संघ, प्रदेश र स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, दलहरूले उम्मेदवार बनाउन नै महिलालाई उपेक्षा गर्दै आएका छन् ।